काठमाडौँ- यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मोरङ क्षेत्र नं. ३ मा खटाइएको कर्मचारी टोलीमा विद्यालयका कार्यालय सहयोगीहरूलाई उपेक्षा गरिएको भन्दै जनसेवा माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रमोद निरौलाले निर्वाचन अधिकृतको कार्यालयमा ध्यानाकर्षण गराएका छन्।
१७९ मतदान केन्द्रका लागि खटाइएका ११७६ कर्मचारीमध्ये जम्मा १५ जना मात्र कार्यालय सहयोगी परेको र उनीहरूलाई पनि आफ्नै कार्यस्थल बाहिर पठाइएकाले मतदान केन्द्रको व्यवस्थापनमा समस्या आउने उनको तर्क छ।
प्राय: सबै मतदान केन्द्र विद्यालयमै रहने हुनाले त्यहाँको बिजुली, पानी, इन्टरनेट, शौचालय र भौतिक पूर्वाधारको चाँजोपाँजो मिलाउन स्थानीय कार्यालय सहयोगीकै भूमिका महत्वपूर्ण हुने भए तापनि उनीहरूलाई जिम्मेवारी र सुविधाबाट वञ्चित गरिएकोमा गुनासो पत्रमा आपत्ति जनाइएको छ।
निर्वाचन अधिकृतहरू आउँदा गेटको ताल्चा खोल्नेदेखि आवासको व्यवस्थापनसम्मका काम विद्यालयकै कर्मचारीले नि:शुल्क गरिदिनुपर्ने तर उनीहरूलाई आधिकारिक रूपमा नखटाइँदा अन्याय हुने भन्दै प्रधानाध्यापक निरौलाले कम्तीमा एउटा केन्द्रमा सम्बन्धित विद्यालयकै एक जना कार्यालय सहयोगी खटाउन सुझाव समेत दिएका छन्।






