टी २० विश्वकप २०२६ : दक्षिण अफ्रिकाविरुद्ध भारतको लज्जास्पद हार, १११ रनमा ‘अलआउट’

हिमाल प्रेस ११ फागुन २०८२ ७:११ | Monday, February 23, 2026
6
SHARES
टी २० विश्वकप २०२६ : दक्षिण अफ्रिकाविरुद्ध भारतको लज्जास्पद हार, १११ रनमा ‘अलआउट’

काठमाडौँ- दक्षिण अफ्रिकाले टी २० विश्वकप २०२६ मा आइतबार सुपर एटको खेलमा भारतमाथि ७६ रनको सानदार जित हात पारेको छ। नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले जितका लागि १८८ रनको लक्ष्य पाएको थियो। त्यसलाई पछ्याउने क्रममा भारत १८.५ ओभरमा १११ रन बनाई अलआउट भयो।

सन् २०२४ को पछिल्लो विश्वकपको उपाधि जित्ने क्रममा भारतले दक्षिण अफ्रिकालाई नै हराएको थियो। त्यसकै बदला लिने क्रममा दक्षिण अफ्रिकाले यो जित निकालेर सुपर एटको ग्रप १ मा २ अंक बटुलेको छ। हारले भारतको टी–२० विश्वकपमा लगातार १२ खेलमा जितयात्रामा पूर्णविराम लागेको छ र टोली दबाबमा आएको छ। भारतका लागि शिवम दुवेले ३७ बलमा सबैभन्दा बढी ४२ रन बनाए।

भारतबाट कुनै पनि उल्लेखनीय साझेदारी पनि भएन। लगातार शून्यको प्रदर्शनपछि ओपनर अभिषेक शर्माले १५ रन बनाए। कप्तान सूर्यकुमार यादव र हार्दिक पाण्ड्येले समान १८ रन जोडे। दक्षिण अफ्रिकी बलरमध्ये मार्को जेन्सनले २२ रनमा ४ विकेट लिए। केशव महाराजले पनि २४ रनमा ३ विकेट लिए।

टस जितेर पहिले ब्याटिङको निर्णय गरेको दक्षिण अफ्रिकाले कमजोर सुरुवात गरेको थियो। दक्षिण अफ्रिकाले २० रन बनाउँदासम्म ३ विकेट गुमाएको थियो। यसक्रममा दबाबमा देखिएको दक्षिण अफ्रिकी टोलीका डेवाल्ड ब्रेभिस र डेविड मिलरले चौथो विकेटका लागि ९७ रनको साझेदारी गरे। दक्षिण अफ्रिकाको जारी विश्वकपमा चौथो विकेटमा भएको यो ठूलो साझेदारी थियो।

भारतविरुद्ध ब्रेभिसले २९ बलमा ४५ रन बनाए । उनले ३–३ चौका र छक्का प्रहार गरे। त्यसपछि मिलरले ट्रिस्टन स्टब्ससँग मिलेर पाँचौं विकेटका लागि थप ३७ रन थपे। मिलरले सबैभन्दा बढी ६३ रन बनाए। उनले ३५ बलमा ७ चौका र ३ छक्का प्रहार गरे। स्टब्सको ब्याटबाट भने ४४ रन निस्केको थियो। उनले २४ बलको सामना गर्दा १ चौका र ३ छक्का प्रहार गरे।

भारतीय बलर जसप्रित बुमराहले १५ रनमा ३ विकेट लिए। उनी सबैभन्दा घातक देखिए। विश्वकपमा उनी भारतका लागि सर्वाधिक विकेटकर्ता बनेका छन्। उनले कुल ३३ विकेट लिइसके। उनले रविचन्द्रन अश्विनको नाममा रहेको ३२ विकेटको कीर्तिमान उछिने। अर्शदीप सिंहले पनि २८ रनमा २ विकेट लिए।

आइतबार नै भएको खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनले हराएको छ। इंग्ल्यान्डले पहिले ब्याटिङको निम्तो पाएको थियो । यस क्रममा टोलीले ९ विकेटमा १ सय ४६ रनको स्कोर खडा गरेको थियो। तर जोफ्रा आर्चर र बिल ज्याक्सले श्रीलंकाको सुरुवाती ६ ओभरको पावर प्लेमा ५ विकेट बाँडेका थिए। यस्तोमा श्रीलंका ५ विकेट गुमाएर ३४ रनको कमजोर स्थितिमा पुगेको थियो।

कोलम्बोमा अघिल्लो दिन न्युजिल्यान्ड र पाकिस्तानबीचको खेल वर्षाले रद्द भएको स्थितिमा इंग्ल्यान्डको यो जित बढी महत्त्वपूर्ण बनेको छ। योसँगै दुवै आयोजक टोली एकै दिन पराजित हुन पुगे। प्रतियोगिता अन्तरगत आज राति वेष्ट इन्डिज र जिम्बाबे खेल्दैछन्।

प्रकाशित: ११ फागुन २०८२ ७:११ | Monday, February 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast