कलाकर्मीको नजरमा सुनिल थापा

हिमाल प्रेस २५ माघ २०८२ १७:४४ | Sunday, February 8, 2026
14
SHARES
कलाकर्मीको नजरमा सुनिल थापा

काठमाडौँ- ‘राते काइँला’ नामले परिचित अभिनेता सुनिल थापाको निधनले समग्र कलाकारिता जगतमा अपुरणीय क्षति पुगेको कलाकर्मीहरूले बताएका छन्।

शनिबार बिहान अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्‍याइएकाे थियाे। प्रारम्भिक जाँच गरेपछि अस्पतालले उनलाई बिहान ७ : ४४ मा निधन भएको घोषणा गरेको थियो। उनी  ६८ वर्षका थिए।

नेपालीसँगै भारतीय फिल्ममा प्रसिद्ध नाम कमाएका थापाको निधनले फिल्मकर्मी स्तब्ध भएका छन्। पछिल्लो समय थापा नेपाली फिल्म ‘राम नाम सत्य’ को छायांकन गरिरहेका थिए।

उक्त फिल्ममा खलपात्रको भूमिकामा अभिनय गरिरहेका थापाको सिन छायांकनको अन्तिम दिन शनिबार रहेको  निर्देशक माइकल चन्दले जानकारी दिए।

उनले भने, ‘शुक्रबार राति १० बजेसम्म अभिनेता थापा छायांकनमै हुनुहुन्थ्यो। हामीले उहाँको सम्पूर्ण काम शुक्रबार राति नै सकाउने तयारी गरेका थियौँ तर उहाँले नै शनिबार बिहान गरौँ भनेपछि सारेका थियौँ। करिब चार हप्तादेखि उहाँले यही फिल्ममा काम गरिरहनुभएको थियो।’

निर्देशक चन्दका अनुसार उक्त सिन थापाको अन्त्येष्टिकै दृश्य शनिबार छायांकन गर्ने तयारी भएको थियो। फिल्ममा उनी खलपात्रको भूमिकामा थिए।

निर्देशक चन्दले भावविह्वल हुँदै भने, ‘फिल्ममा उहाँलाई जलाउने दृश्य खिच्नु थियो। हामीले केही दिनदेखि द्वन्द्वका दृश्य छायांकन गरिरहेका थियौँँ, सोही कारण एक हप्तादेखि निरन्तर छायांकनमा संलग्न थियौँ। उहाँले शनिबार बिहान ६ बजेदेखि १० बजेसम्म छायांकन गरेर एउटा पारिवारिक समारोहमा सहभागी हुनुपर्ने कुरा बताउनुभएको थियो। शुक्रबार बेलुका नियमित रुपमा छुटिएका थियौँ, त्यो नै अन्तिम भेट भयो।’

उनीसँगै फिल्ममा अभिनय गरिरहेका अभिनेता प्रशान्त ताम्राकारले अभिनेता थापाको निधनलाई पत्याउन गाह्रो भइरहेको बताए।

‘शनिबार बिहान हामी उहाँलाई छायांकनका लागि कुरिरहेका थियौँ, अचानक उहाँ नरहेको खबर आयो। मैले फिल्म ‘राम नाम सत्य’ मा पहिलो दृश्य उहाँसँगै दिएँ। हिजो बेलुकी (शुक्रबार) अन्तिम दृश्य पनि उहाँसँगै भयो,’अभिनेता ताम्राकारले भने, ‘उहाँले मलाई छायांकन अवधिभर प्रोत्साहन गरिरहनुभयो। आफ्नो अनुभवले हामीलाई मार्गनिर्देश गर्नुहुन्थ्यो।’

अभिनेता भुवन केसीले फिल्म क्षेत्रले देशकै अब्बल कलाकार गुमाएको बताए।अभिनेता थापा आफ्नो एक असल मित्र रहेको उनले सुनाए।

‘अभिनेता थापा मेरा लागि कलाकारभन्दा पनि असल मित्र हुनुहुन्थ्यो। फिल्म ‘चिनो’ मा पहिलोपटक काम गरेका थियाैँ। त्यसपछि हामीले थुप्रै फिल्मी सेटमा कैयौँ अन्तरंग क्षण बिताएका छाैँ,’ अभिनेता केसीले भने, ‘मैले निर्माण गरेका फिल्म ‘सपना’ देखि ‘क्याप्टेन’ सम्म हामीले सहकार्य गरेका छौँ। उहाँ र म अर्कालाई भेट्दा सधैँ के छ दोस्त भनेर सोध्थ्यौँ। उहाँको बिदाइले हामीलाई अपुरणीय क्षति पुगेको छ।’

राजेश हमालले अभिनेता थापालाई एक अद्भूत क्षमता भएका सहकर्मीका रुपमा स्मरण गरिरहने बताए। उनले सामाजिक सञ्जालमार्फत अभिनेता थापाले कलाकारितामा देखिएको रिक्तता कहिल्यै भरिन नसक्ने उल्लेख गरेका छन्।

नेपाली फिल्मको इतिहासमा तपाईं एउटा महत्वपूर्ण मोड हुनुहुन्छ। मेरो फिल्म यात्रा तपााईंप्रति समर्पित गर्दछु। तपाइको अभाव सधैँ महसुस हुनेछ’, अभिनेता हमालले लेखेका छन्।

नेपाली फिल्म ‘चिनो’ मार्फत अभिनेता थापालाई नेपाली फिल्ममा स्थापित गराएका निर्देशक तुलसी घिमिरेले पात्रलाई जीवन्त बनाउन सक्नु नै उनको खुबी रहेको बताए।

‘अभिनेता थापाले आफ्नो कामलाई सधैँ गम्भीरतापूर्वक लिएर सम्पन्न गर्न मेहनत गर्नुभयो। पछिल्लो समय मैले फिल्म ‘पहाड’ मा उहाँसँग काम गरेँ। उहाँका मेहनत भाव देखेर म खुसी थिएँ। हामीले उहाँको दृश्यलाई समावेश गरेर फिल्मको टिजर सार्वजनिक गर्ने तयारी थियौँ, त्यही देखाउने सल्लाह हुँदै थियो। अचानक दुःखद् खबर सुनेँ। उहाँको अनुपस्थिति हामी फिल्मकर्मीलाई महसुस हुनेछ’, निर्देशक घिमिरेले भने।

अभिनेता थापाको जन्म २०१७ साल जेठ ६ गते दाङमा भएको थियो। कलाकारिता गर्नुअघि उनले मुम्बईमा मोडलिङ, फुटबल खेल तथा फोटो पत्रकारिताजस्ता क्षेत्रमा काम गरे।

भारतीय फिल्म ‘एक दुजे के लिये’ बाट कलाकारिताको सुरुवात गरेका थापाले नेपाली फिल्म ‘मसाल’ मार्फत नेपालमा अभिनय यात्रा सुरु गरे।

नेपाली, हिन्दी र भोजपुरी भाषा गरी उनले करिब ३०० भन्दाबढी फिल्ममा अभिनय गरेका छन्।पछिल्लो समय ‘द फ्यामिली म्यान’ नामक भारतीय वेब शृङ्खलाले उनलाई चर्चामा ल्याएको थियो।

नेपाली फिल्मले एक अनुभवी कलाकार र अमूल्य सांस्कृतिक धरोहर गुमाएको कलाकार, चलचित्रकर्मी तथा शुभेच्छुकहरूले बताएका छन्।

उनलाई कलाकर्मीहरूले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिइरहेका छन्। साथै भारतीय कलाकार प्रियंका चोपडा जोनस, मनोज बाजपायीलगायतले पनि सामाजिक सञ्जालमार्फत थापाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

फिल्ममा खलनायक पात्रलाई पनि अभिनेतासरह चर्चा र सम्मान दिलाउन सफल थापा ‘राते काइँला’ पात्रमार्फत विशेष रूपमा लोकप्रिय थिए।

श्रीमतीसहित उनका एक छोरा र छोरी छन्। -भेषराज कार्की/रासस

पशुपति आर्यघाटमा गरियाे सुनिल थापाको अन्त्येष्टि

प्रकाशित: २५ माघ २०८२ १७:४४ | Sunday, February 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast