साम्बाले धन्यवाद दिँदै भनिन्- अब सहयोग रकम रोकिदिनुस्

हिमाल प्रेस १२ फागुन २०८२ १६:०९ | Tuesday, February 24, 2026
26
SHARES
साम्बाले धन्यवाद दिँदै भनिन्- अब सहयोग रकम रोकिदिनुस्

काठमाडौँ- नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले आफ्नो उपचारका लागि उठेको सहयोग रकम पर्याप्त भइसकेको भन्दै अब सहयोग रकम रोकिदिन आग्रह गरेकी छन्।

घाइते भएपछि शल्यक्रिया र पुनर्स्थापनाका लागि आर्थिक सहयोग जुटाउने अभियान सुरु गरिएको थियो। पछिल्लो २४ घण्टामा देश विदेशबाट उल्लेख्य आर्थिक सहयोग प्राप्त भएपछि साम्बाले सार्वजनिक अपिल गर्दै अब सहयोग नगर्न अनुरोध गरेकी हुन्।

आज उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्,‘आज ‘धन्यवाद’ शब्द निकै सानो लागेको छ। मेरो उपचारका लागि जुन साथ, विश्वास र माया मैले पाएको छु, त्यो शब्दले वर्णन गर्न सक्दिन। आर्थिक रूपमा यहाँहरूले उपचार खर्च जुटाइदिनु भयो तर त्योभन्दा ठूलो कुरा तपाईंहरूको साथ र वाचाले मलाई अझ बलियो बनाएको छ।’

उनका अनुसार नेपाली बैंक खातामा एक करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको छ भने विदेशी प्लेटफर्ममार्फत करिब ४५ लाख रुपैयाँ (५२ हजार न्युजिल्यान्ड डलर) जम्मा भइसकेको छ। साथै विभिन्न संघसंस्था र प्रायोजकबाट नगद तथा अन्य सुविधा सहयोगको प्रतिबद्धता आएको छ। कतारमा उपचारका क्रममा लाग्ने आवास र यातायात व्यवस्थापनका लागि पनि सहयोगको वाचा भएको उनले जानकारी दिइन्।

‘यसले मेरो उपचार खर्च मात्र नभई कतारमा उपचारका क्रममा लाग्ने सम्पूर्ण व्यवस्थापन पुग्ने देखिन्छ। त्यसैले आजबाट दुवै अकाउन्टमा सहयोग रकम रोकिदिनु हुन अनुरोध गर्दछु,’ उनले भनिन्।

साम्बा आवद्ध क्लब वेलिंगटन फिनिक्सले पनि शल्यक्रिया तथा पुनर्स्थापनाका लागि बीमा रकम निकासा गरी थप सहयोग गरिरहेको उनले उल्लेख गरेकी छन्। चाँडै शल्यक्रियाको मिति तय भई प्रक्रिया अघि बढ्नेमा आफू विश्वस्त रहेको उनले बताइन्।

चोटका कारण शारीरिक मात्र नभई मानसिक रूपमा पनि थकान महसुस गरेको बताउँदै उनले समर्थकहरूको साथले पुनः उठ्ने साहस दिएको उल्लेख गरेकी छन्। ‘म एक्लो छैन भन्ने विश्वास तपाईंहरूले दिनुभएको छ,’ उनले भनिन्।

दृढ संकल्प व्यक्त गर्दै साम्बाले पुनः नेपालको जर्सी लगाएर मैदानमा फर्किने प्रतिबद्धता जनाएकी छन्।

प्रकाशित: १२ फागुन २०८२ १६:०९ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast