रास्वपाले हार्ने भएपछि हिंसा भड्कायो : एमाले

हिमाल प्रेस ९ फागुन २०८२ १७:१९ | Saturday, February 21, 2026
22
SHARES
रास्वपाले हार्ने भएपछि हिंसा भड्कायो : एमाले

काठमाडौँ- नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) माथि आगामी प्रतिनिधिसभा निर्वाचन भाँड्ने गम्भीर षड्यन्त्रमा लागेको आरोप लगाएको छ। निर्वाचनको मिति नजिकिँदै गर्दा मुलुकमा भय र त्रासको वातावरण सिर्जना गरिएको भन्दै एमालेले सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो।

एमालेको आमनिर्वाचन २०८२ का प्रेस संयोजक मीनबहादुर शाहीद्वारा शनिबार जारी विज्ञप्तिमा चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि रास्वपाले देशका विभिन्न भागमा हिंसा र अराजकता फैलाउन थालेको दाबी गरिएको छ।

एमालेले आफ्नो आस्थाको केन्द्र सूर्य ध्वजावाहक झन्डा जलाउने र पार्टीको मूल नेतृत्वप्रति घृणा फैलाउने कार्य तीव्र पारिएको जनाएको छ। विज्ञप्तिमा भनिएको छ, ‘कथित नयाँको नाममा भोट फर चेन्ज को भाष्य बिक्री हुन छोडेपछि अहिले देशैभर अभद्र व्यवहार र फेक सर्वेक्षणमार्फत जनमत प्रभावित पार्ने कार्य भइरहेको छ।’

रौतहटको गौरमा जारी अनिश्चितकालीन कर्फ्युलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै एमालेले समुदाय-समुदायबीच अन्तरविरोध सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाएको छ। ‘हजारौँ कैदीबन्दी र सुरक्षा निकायका लुटिएका हातहतियार बाहिरै रहेकाले आपराधिक क्रियाकलाप बढ्न सक्ने हाम्रो पूर्वानुमान पुष्टि हुँदै गएको छ’, विज्ञप्तिमा उल्लेख छ।

एमालेले सरकार र सम्बन्धित निकायलाई जवाफदेही बन्दै तत्काल शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन माग गरेको छ। ‘देश पहिलाका लागि  एमाले जस्तोसुकै बलिदान दिन तयार छ’, शाहीले स्पष्ट पारेका छन्।

एमालेले उठाएका पाँच विषय

१. सुरक्षामा प्रश्न : देशमा शान्ति सुरक्षा कायम हुन नसक्दा निर्वाचन भयरहित हुनेमा एमाले आश्वस्त हुन सकेको छैन।

२. रास्वपाको भूमिका : चुनाव जित्ने सम्भावना नदेखेपछि रास्वपाले झन्डा जलाउने र अशान्ति फैलाउने अभियान चलाएको आरोप।

३. आचारसंहिता उल्लंघन : होली पर्वको मौका छोपी पार्टीको तस्बिर र चिह्न अंकित टिसर्ट वितरण गरिएको दाबी।

४. आयोगको उदासीनता : निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि निर्वाचन आयोग मौन बसेकोमा एमालेको आशंका।

५. जनमत सङ्ग्रह : आगामी चुनावलाई एमालेले ‘देश बनाउने र जलाउने’ शक्तिहरूबीचको जनमत सङ्ग्रहको रूपमा लिएको घोषणा।

झापा पुगेर ओलीले भने- रास्वपा चुनाव भाँड्न खोज्दै छ

प्रकाशित: ९ फागुन २०८२ १७:१९ | Saturday, February 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast