शिक्षकहरूलाई रविको सुझाव : ‘स्मार्ट क्लासरुम’ बनाउन लाग्नुस्, राजनीतिको ठेक्का हामी लिन्छौँ

विवेक विवश रेग्मी १२ फागुन २०८२ १८:४७ | Tuesday, February 24, 2026
52
SHARES
शिक्षकहरूलाई रविको सुझाव : ‘स्मार्ट क्लासरुम’ बनाउन लाग्नुस्, राजनीतिको ठेक्का हामी लिन्छौँ

इटहरी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले शिक्षा क्षेत्रमा बढ्दो राजनीतिक हस्तक्षेपप्रति असन्तुष्टि जनाउँदै शिक्षकहरूलाई ‘स्मार्ट क्लासरुम’ विकासमा केन्द्रित हुन आग्रह गरेका छन्।

मंगलबार इटहरीमा आयोजित चुनावी सभामा बोल्दै उनले शिक्षा क्षेत्र चरम राजनीतिकरणको चपेटामा परेको टिप्पणी गरे। उनका अनुसार यही कारणले विद्यार्थीहरू बिदेसिन बाध्य भइरहेको अवस्था सिर्जना भएको छ।

‘शिक्षक साथीहरू पेसागत संगठन बनाउन भन्दा स्मार्ट क्लासरूम कसरी बनाउने हो त्यसको योजना बनाउनुहोस्, राजनीतिको ठेक्का हामी लिन्छौँ,’ लामिछानेले भने। उनले हरेक विद्यार्थीको भविष्य निर्माणमा शिक्षकहरूले ध्यान दिनुपर्नेमा जोड दिँदै शिक्षक र कर्मचारीको सुरक्षा पार्टीको नीति र विधिले सुनिश्चित गर्ने दाबी गरे। ‘तपाईँको सुरक्षा रास्वपाको नीतिले गर्छ, कुनै नेताले गर्दैन,’ उनले थपे।

लामिछानेले शिक्षक र कर्मचारीलाई राजनीतिक दलका भातृ संगठनमा सक्रिय नहुन आग्रह गरे। भातृ संगठनबाट टाढा रहँदा अधिकारबाट वञ्चित गरिने डर निराधार रहेको उनको जिकिर थियो। उनका अनुसार पेसागत मर्यादा र संस्थागत सुधारमार्फत शिक्षा क्षेत्रलाई बलियो बनाउनु अहिलेको आवश्यकता हो।

रास्वपाले शिक्षा क्षेत्रमा राजनीतिक प्रभाव घटाएर प्रविधिमैत्री शिक्षण वातावरण निर्माण गर्ने लक्ष्य लिएको उनले स्पष्ट पारे। उनले थपे, ‘हरेक विद्यार्थीको भविष्य कसरी बनाउने त्यसमा लाग्नुहोस्, तपाईँको सुरक्षा रास्वपाको नीतिले गर्छ, कुनै नेताले गर्दैन ।’

रास्वपाले विधिको शासन स्थापित गर्ने दाबी गर्दै लामिछानेले कर्मचारी ट्रेड युनियनबारे पनि टिप्पणी गरे। उनले कर्मचारीको सुरक्षा कुनै नेताले होइन, नीति र कानुनले सुनिश्चित गर्ने बताए।

निर्माण व्यवसायीप्रति लक्षित गर्दै लामिछानेले कानुनअनुसार काम हुने बताए । ‘बाँध्ने भनेको कानुनले हो, डोरीले होइन,’ उनले कांग्रेस सभापति गगन थापा लक्षित टिप्पणी गरे, ‘बीस वर्ष सांसद-मन्त्री भएपछि बल्ल कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो भने त्यो ज्ञान आफूसँगै राख्नुस्।’

सुकुम्बासी समस्यामा बल प्रयोग नभई समाधानमुखी दृष्टिकोण अपनाइने उनले बताए । ‘डोजर सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको झुपडीमा होइन,’ उनले भने । भूमिहीनका लागि शक्तिशाली आयोग गठन गरेर विज्ञहरूको सुझाव कार्यान्वयन गरिने उनको दाबी थियो ।

लामिछानेले लोकतान्त्रिक अभ्यासप्रति प्रतिबद्धता जनाउँदै सबैलाई निर्वाचनमा सहभागी हुन आग्रह गरे । ‘कुनै दललाई सच्चिन मन छ भने पाँच वर्ष सडकको प्रतिपक्ष बसेर सच्चिएर आओस्,’ उनले भने, ‘चुनावले दिएको परिणाम सबैले स्वीकार गरौँ, लोकतन्त्रको ठेक्का कसैले नलिऔँ।’

२०४६ साल पछिका सबै काण्डको छानबिन हुनेसमेत उनको दाबी छ । उनले भने, ‘प्रतिशोध हुँदैन, हिसाब हुन्छ।’ लघुवित्त र सहकारी समस्याको समाधान गरिने प्रतिबद्धता जनाउँदै उनले प्रश्न गरे, ‘रवि लामिछानेलाई थुन्नेबाहेक कसैको पैसा फिर्ता भयो?’ उनले अवैध क्रसर व्यवसायीको चन्दाबाट केही दलहरूको राजनीति चलेको आरोपसमेत लगाए । ‘हामीलाई दुखेको छ, दुखेको मान्छे कराउँछ, चिच्याउँछ,’ उनले थपे ।

सोही क्रममा रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले पूर्वी नेपालको कृषि उत्पादन र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताए। चुनावी सभामा बोल्दै उनले स्थानीय उत्पादन उपभोग बढाउन र सिँचाइ समस्या समाधान गरिने धारणा व्यक्त गरे ।

‘तरकारी कहाँको खानुभयो? बोर्डरपारिको खानुभयो,’ उनले भने, ‘यहीँ तेह्रथुम, पाँचथरमा उत्पादन भएको तरकारीहरू यहीँ तराईमा खान पाइएको छैन, यो दुःखको समाधान गर्नुपर्छ।’ उनका अनुसार पूर्वी तराईका तीन–चार जिल्लामा उत्पादन हुने धानले देशभरको माग धान्न सक्ने क्षमता भए पनि व्यवस्थापन अभावका कारण स्थानीयस्तरमै पर्याप्त उपयोग हुन सकेको छैन ।

बर्खामा बाढीका कारण क्षति र सुख्खामा सिँचाइ अभाव दोहोरिने समस्यालाई समाधान गर्न दीर्घकालीन योजना आवश्यक रहेको उनले बताए। ‘खेतीयोग्य जग्गालाई त्यतिकै राख्नुपर्ने समस्या छ, यो समस्या समाधान गरिनुपर्छ,’ उनले भने ।

शाहले पूर्वी क्षेत्रलाई आर्थिक सम्भावनाको केन्द्रका रूपमा प्रस्तुत गर्दै पर्यटन र कृषि मार्फत आम्दानी बढाउन सकिने बताए। पूर्वका धार्मिक तथा सांस्कृतिक स्थललाई राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नुपर्ने उल्लेख गर्दै पाथीभरा देवी मन्दिर, मुक्मलुङ र खुवालुङलाई साझा आस्थाको केन्द्रका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्दै बराहक्षलाई अन्तर्राष्ट्रियमै चिनाउनुपर्ने जिकिर गरे। उनका अनुसार धार्मिक पर्यटन विस्तारले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष टेवा पुग्नेछ।

उदयपुरलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यजस्तै विकास गर्न सकिने सम्भावना औंल्याउँदै उनले योजनाबद्ध लगानी आवश्यक रहेको धारणा राखे। ‘हाम्रो पूर्वलाई देखाएर पैसा कमाउन सकिन्छ। उदयपुरमा बाली र माल्दिभ्सजस्तो बनाउन सकिन्छ,’ उनले थपे।

खानेपानी अभाव समाधानतर्फ संकेत गर्दै उनले कोशीबाट धरानमा खानेपानी ल्याउनुपर्ने प्रस्ताव पनि अघि सारे। उनका अनुसार सो परियोजनाका लागि करिब पाँच–छ अर्ब रुपैयाँ लगानी आवश्यक पर्नेछ। उक्त समस्या समाधान गर्न रास्वपा तयार रहेको उनको दाबी छ।

पूर्व क्षेत्र देशकै पहिलो औद्योगिक आधार भएको स्मरण गराउँदै शाहले नयाँ उद्योग स्थापना प्रक्रियामा प्रशासनिक झन्झट र राजनीतिक हस्तक्षेप मुख्य अवरोध बनेको आरोप लगाए। उद्योग खोल्न नेतादेखि कर्मचारीसम्म ‘ढोग्नुपर्ने’ अवस्था अन्त्य गर्ने प्रतिबद्धता जनाउँदै उनले उद्योग सञ्चालनपछि देखिने ‘चन्दा आतंक’ रोक्न कडा व्यवस्था गरिने बताए।

प्रकाशित: १२ फागुन २०८२ १८:४७ | Tuesday, February 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast