पोखरामा समर्थकबाट घेरिए रवि लामिछाने

हिमाल प्रेस २८ माघ २०८२ २०:१६ | Wednesday, February 11, 2026
12
SHARES
पोखरामा समर्थकबाट घेरिए रवि लामिछाने तस्बिरहरूः विजय नेपाल।

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चुनावी प्रचारका क्रममा बुधबार पर्यटकीय राजधानी पोखरा आइपुगे।

कास्कीका तीनवटै क्षेत्रको प्रतिनिधित्व गर्ने गरी उनी क्रमशः बेगनास ताल, हेमजा र पृथ्वीचोकमा आयोजित भेलामा सहभागी भए। गाडीबाटै ओहोरदोहोर गरेका लामिछानेले मतदातालाई विश्वास दिलाउँदै भने, ‘एकपटक विश्वास गरिदिनोस्। काम गर्न सकेनौं भने अर्कोपटक भोट माग्न आउँदैनौं।’

रास्वपा कार्यकर्ता तथा लामिछानेका समर्थकहरुले ‘रवि दाइ हाई हाई’ गर्दै नारासमेत लगाएका थिए। सबै क्षेत्रमा उनीहरुको बाक्लो उपस्थिति थियो। पूर्व उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेले कास्कीका तीनवटै क्षेत्रका आफ्ना उम्मेदवारको जिम्मा लिने पनि प्रतिबद्धता व्यक्त गरे।

रास्वपाले आगामी २१ फागुनको प्रतिनिधि सभा सदस्य चुनावमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नम्बर १ मा खड्गराज पौडेल (गनेश), कास्की २ मा उत्तम पौडेल र ३ बिना गुरुङलाई उम्मेदवार बनाएको छ। उनले आफ्ना उम्मेदवारलाई जिताउन तथा समानुपातिकतर्फ भारी सिट ल्याउन घण्टी चुनाव चिन्हमा मतदान गर्न मतदातासमक्ष आग्रह गरे।

यसै गरी उनले अब भाषणले होइन, परिणामले जित्नुपर्छ भनी जोड दिए। मुलुकमा शिक्षा, स्वास्थ्य र स्थानीय पूर्वाधार व्यवस्थित हुन नसक्दा नेपाली जनताले दुःख पाएको उल्लेख गर्दै राजनीतिलाई कमाउने नभई सेवा गर्ने माध्यम बनाउनुपर्ने बताए। लामिछानेले भने, ‘घण्टी परिवर्तनको संकेत हो, अब नेपालमा नयाँ पुस्ताले नेतृत्व गर्ने समय आएको छ।’

प्रकाशित: २८ माघ २०८२ २०:१६ | Wednesday, February 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast