काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली नेपाली कांग्रेस फर्किएका छन्।
रास्वपा मकवानपुरले आज हेटौंडा उपमहानगरपालिका–४, स्थित हुप्रचौरमा सभा आयोजना गरिरहँदा सभापति पराजुली सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका हुन्। पराजुलीलाई नेपाली कांग्रेस सभापति गगनकुमार थापाले सर्लाहीमा कांग्रेस प्रवेश गराएका छन् । पराजुलीसहित रास्वपा मकवानपुरका नेताहरू आइतबार राति नै सर्लाही पुगेका थिए ।
कांग्रेस सभापति थापासँगको भेटपछि पराजुलीले पार्टी नेतृत्व शैलीमाथि प्रश्न उठाउँदै पार्टी परित्याग गरेको समाजिक सञ्जाल मार्फत घोषणा गरेका छन्। उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा मकवानपुरको क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । पराजुलीले १२ हजार ३९ मत ल्याएर तेस्रो भएका थिए ।
यस क्षेत्रबाट नेकपा एमालेका महेश बर्तौला ३४ हजार ९ सय १६ मत ल्याउँदै ४ हजार ५२० मतान्तरसहित विजयी भएका थिए । तत्कालीन नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले ३० हजार ३९६ मत पाएका थिए।





