प्रधानमन्त्री कार्की बुद्ध जन्मस्थलमा

हिमाल प्रेस ९ फागुन २०८२ १५:५३ | Saturday, February 21, 2026
8
SHARES
प्रधानमन्त्री कार्की बुद्ध जन्मस्थलमा

लुम्बिनी– प्रधानमन्त्री सुशीला कार्कीले शनिबार बुद्ध जन्मस्थल लुम्बिनी भ्रमण गरेकी छन्। विश्वशान्तिको प्रतीक तथा भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीको संरक्षण, विकास र अन्तर्राष्ट्रिय प्रवर्द्धनलाई प्राथमिकतामा राख्दै प्रधानमन्त्री कार्कीले लुम्बिनी भ्रमण गरेकी हुन्।

भ्रमणका क्रममा प्रधानमन्त्री कार्कीले मायादेवी मन्दिरमा दर्शन गरिन्। उनले भगवान् बुद्धको जन्मस्थलको ऐतिहासिक र धार्मिक महत्त्वबारे जानकारी लिँदै संरक्षण कार्य अझ व्यवस्थित र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याइन्। त्यसैगरी प्रधानमन्त्रीले थाई विहारलगायत लुम्बिनी क्षेत्रभित्रका विभिन्न अन्तर्राष्ट्रिय विहार तथा संरचनाहरूको पनि अवलोकन गरेको कोषका सदस्यसचिव दीपक श्रेष्ठले बताए।

प्रधानमन्त्री कार्कीले लुम्बिनी नेपालको मात्र नभई सम्पूर्ण विश्वकै साझा सम्पदा भएको उल्लेख गर्दै यसको विकास गर्दा मौलिकता, शान्ति र धार्मिक सहिष्णुतालाई केन्द्रमा राख्नुपर्ने बताइन्। उनले लुम्बिनी विकास कोष, स्थानीय समुदाय र सरोकारवालाहरूबीच समन्वय गरेर दीर्घकालीन गुरुयोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको पनि स्पष्ट पारिन्।

लुम्बिनी विकास कोषका पदाधिकारीहरूले प्रधानमन्त्री समक्ष हालसम्म भएका विकास निर्माणका कार्य, भावी योजना तथा देखिएका चुनौतीबारे जानकारी गराएका थिए। प्रधानमन्त्रीको भ्रमणले लुम्बिनी क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन महत्त्वलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप उजागर गर्ने अपेक्षा गरिएको कार्यकारी सदस्य श्याम रोक्काले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast