मिडिया ‘टाइकुन’ जिम्मी लाईलाई २० वर्षको जेल सजाय

हिमाल प्रेस २६ माघ २०८२ १६:२६ | Monday, February 9, 2026
16
SHARES
मिडिया ‘टाइकुन’ जिम्मी लाईलाई २० वर्षको जेल सजाय जिम्मी लाई

काठमाडौँ- हङकङको उच्च अदालतले मिडिया टाइकुन जिम्मी लाईलाई २० वर्षको जेल सजाय सुनाएको छ। बेइजिङले हङकङमा जारी गरेको दमनकारी राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत यसलाई सबैभन्दा चर्चित मुद्दा मानिएको छ।

७८ वर्षीय अर्बपति मिडिया उद्यमी लाई सन् २०१९ मा हङकङलाई हल्लाइदिएको लोकतन्त्र पक्षधर आन्दोलनका समर्थक र चीनका कडा आलोचक हुन्। अर्ध-स्वायत्त क्षेत्र हङकङ र बेइजिङले अशान्तिपछि गरेको कडा कारबाहीका बीच उनको यो मुद्दालाई विश्वभर हङकङको प्रेस र राजनीतिक स्वतन्त्रताको मापनका रूपमा नजिकबाट हेरिएको थियो।

गत महिना लाईलाई विदेशी शक्तिसँग मिलेमतो गरेको दुईवटा र हाल बन्द भइसकेको लोकतन्त्र पक्षधर ट्याब्लोइड एप्पल डेलीमार्फत राजद्रोहात्मक सामग्री प्रकाशन गर्ने षड्यन्त्र गरेको अभियोगमा दोषी ठहर गरिएको थियो।

विदेशी शक्तिसँगको मिलेमतोको आरोप सन् २०२० मा बेइजिङले हङकङमा लगाएको राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत लगाइएको थियो। उनलाई राष्ट्रिय सुरक्षा कानुनबमोजिम जन्मकैद सम्मको सजाय हुन सक्ने सम्भावना थियो।

यो सजायले उनी चाँडै रिहा हुने आशामा तुसारापात गरिदिएको छ। सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचनको दौडान डोनाल्ड ट्रम्पले लाईलाई मुक्त गर्न शतप्रतिशत प्रयास गर्ने बाचा गरेका थिए भने बेलायती प्रधानमन्त्री किर स्टार्मरले पनि गत महिना बेइजिङ भ्रमणका क्रममा उनको मुद्दा उठाएका थिए।

बेलायती नागरिक लाई मधुमेह र मुटुको धड्कन बढ्ने समस्याबाट ग्रसित छन्। उनको परिवार र अन्तर्राष्ट्रिय कानुनी टोलीले उनको स्वास्थ्य अवस्था खराब रहेको बताएका छन्। गत महिनाको बहसका क्रममा उनका वकिलहरूले उनको उमेरका कारण लामो जेल सजायले ठूलो असर पार्ने तर्क गर्दै भनेका थिए, ‘जेलमा बिताउने हरेक दिनले उनलाई जीवनको अन्त्यको नजिक लैजानेछ।’

चिनियाँ अधिकारीहरूले लाईलाई २०१९ को विरोध प्रदर्शनको मुख्य उक्साहटका रूपमा चित्रण गरेका छन्। हङकङमा सन् १९९७ मा बेलायती प्रशासनबाट हस्तान्तरण हुँदा गरिएको ‘एक देश, दुई प्रणाली’ को व्यवस्थाअन्तर्गत चीनको मुख्य भूमिभन्दा फरक कानुनी संरचना रहेको छ।

सरकारी अभियोजकहरूले लाईले अमेरिकी अधिकारीहरूसँग गरेका भेटघाटमा ध्यान केन्द्रित गरेका थिए। उनीहरूका अनुसार ती भेट चिनियाँ कम्युनिस्ट पार्टीलाई ढाल्नका लागि चीन र हङकङका अधिकारीहरूमाथि प्रतिबन्ध लगाउन अमेरिकालाई मनाउने प्रयास थिए।

लाईलाई पहिलो पटक २०२० मा पक्राउ गरिएको थियो र उनले पाँच वर्ष हिरासतमा बिताइसकेका छन्। यसअघि पनि उनलाई तियानमेन स्क्वायर दमनको वार्षिकोत्सव र सरकारविरोधी प्रदर्शनहरूमा संलग्न भएको तथा आफ्नो मिडिया समूह ‘नेक्स्ट मिडिया’ मा जालसाजी गरेको आरोपमा विभिन्न जेल सजाय सुनाइएको थियो। उनको यो पछिल्लो अदालती सुनुवाइ १५६ दिनसम्म चलेको थियो।

प्रकाशित: २६ माघ २०८२ १६:२६ | Monday, February 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast