धरहराको बाहिरी स्वरूपको व्यवस्थापन काठमाडौँ महानगरले गर्ने

हिमाल प्रेस ८ फागुन २०८२ १६:४५ | Friday, February 20, 2026
12
SHARES
धरहराको बाहिरी स्वरूपको व्यवस्थापन काठमाडौँ महानगरले गर्ने

काठमाडौँ- काठमाडौँको सुन्धारास्थित धरहरा क्षेत्रमा शुक्रबार बसेको नेपाल सरकार र काठमाडौँ महानगरबीच भएको संयुक्त बैठकले धरहरा क्षेत्रमा निर्माण भएको संरचनाभित्र सवारीसाधन पार्किङ सञ्चालनलाई थप प्रभावकारी बनाउने र यसका लागि महानगरले महानगर प्रहरी बललाई परिचालन गर्ने निर्णय गरेको हो।

बैठकले धरहरा क्षेत्रको सञ्चालन गर्नका लागि तत्काल र दीर्घकालीन योजना, परियोजना सञ्चालन, प्रारूप सम्बन्धमा अध्ययन विश्लेषण गरी सुझावसहित पेस गर्न सहरी विकास मन्त्रालय र काठमाडौँ महानगरपालिकाले तोकेका पदाधिकारीको संयुक्त समिति गठन गर्ने निर्णय गरेको छ।

धरहराको बाहिरी संरचनाका सम्बन्धमा आवश्यक र उपयुक्त कार्य गर्न काठमाडौँ महानगरलाई जिम्मा दिने निर्णय भएको काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिइन्। उनले समग्र धरहरा सञ्चालनका लागि पूर्णरूपमा महानगरलाई हस्तान्तरण गर्न आग्रह गरिएको बताइन्।

त्यस्तै सहरी विकास मन्त्री प्राडा कुमार इङ्नामले सुन्धाराको बाहिर स्वरुपको व्यवस्थापन काठमाडौँ महानगरले गर्ने गरी सहमति भएको बताए। यसको सम्पूर्ण आर्थिक दायित्व महानगरले लिने उनले बताए। उनले पार्किङ र सुरक्षाको विषय महानगरले तत्कालै अघि बढाउने उल्लेख गरे।

मन्त्री इङ्नामले महानगरको माग बमोजिम धरहराको पुरै व्यवस्थापन हस्तान्तरणका लागि समिति गठन गरिने र समितिले आवश्यक मोडालिटी तयार गर्ने जानकारी दिए।  छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको समेत उपस्थिति थियो।

प्रकाशित: ८ फागुन २०८२ १६:४५ | Friday, February 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast