काठमाडौँ- मस्तिष्कघातका कारण निधन भएका चलचित्र पत्रकार दिनेश सिटौलाको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। ग्रान्डी अस्पतालमा उपचाररत सिटौलाको आइतबार दिउँसाे १२:४५ मा निधन भएको थियो।
पत्रकार सिटौला शुक्रबार अछाममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौँका पूर्वमेयर बालेन्द्र शाह (बालेन) को चुनावी प्रचारको क्रममा साथीहरूसँगै अछाम पुगेका थिए।
यात्राकै क्रममा शुक्रबार बिहान एक्कासि ढलेर बेहोस भएका थिए। उनको तत्काल अछाम जिल्ला अस्पतालमा आकस्मिक उपचार गरिएको थियो।
अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘अस्पताल पुग्दा उनको श्वासप्रश्वास थिएन। कार्डियोपल्मोनरी रेससिटेशन (सीपीआर) तुरुन्तै सुरु गरिएको थियो र लगभग ४५ मिनेटपछि मुटुको चाल फर्किएको थियो। उनलाई तत्काल भेन्टिलेटरमा राखिएको थियो। यस अवधिमा उनलाई सिजर देखिएको थियो, जुन उचित रूपमा व्यवस्थापन गरियो।’
त्यसपछि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा थप उपचार गराइरहेका थिए।
पत्रकार सिटौलाले करिब दुई दशकदेखि चलचित्र पत्रकारितामा निरन्तर सक्रिय थिए। उनी चलचित्र पत्रकार संघका निवर्तमान अध्यक्ष हुन्।
२०७० सालमा संघको सचिव बनेका सिटौला २०७६ सालमा संघको अध्यक्ष बनेका थिए। द सिनेमा टाइम्सका सञ्चालकसमेत रहेका सिटौला हाल संघका सल्लाहकारको रुपमा कार्यरत थिए।



