काठमाडौँ- फिल्म ‘कार्की साइँला’ को छायांकन सुरु भएको छ। निर्माण टिमले धनकुटाबाट फिल्मको छायांकन थालेका हुन्।
धनकुटासँगै बराहक्षेत्र र चतरामा छायांकन तालिका रहेको फिल्मका निर्देशक राजेन्द्र बस्नेतले जानकारी दिए। फिल्म डम्बर राईले छायांकन गरिरहेका छन्।
राजेन्द्र बस्नेतको निर्देशनमा निर्माण हुने फिल्ममा अभिनेता जितु नेपाल र कलाकार प्रियना आचार्य (मुन्नी) मुख्य भूमिकामा छन्। यसअघि प्रियनाले ‘झरिपछिको इन्द्रेणी’ र लाज शरणममा अभिनय गरेकी थिइन्। सक्किगोनी टेलिश्रृंखलाबाट चर्चामा आएकी प्रियना र जितुको यो पहिलो सहकार्य हो।
साथै फिल्ममा सुशील पोखरेल, बीरेन्द्र सिंह कुशहुवा, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटालगायत कलाकारको अभिनय रहनेछ।
कर्णबहादुर फिल्मस् को ब्यानरमा निर्माण हुने फिल्ममा बालकुमार राई निर्माता छन्। कृष्ण भगत चाम्लिङको प्रस्तुती रहेको फिल्ममा मुख्य सहायक निर्देशक रोजल थापा रहेका छन्।
फिल्ममा किरण दाहालको द्वन्द्व निर्देशन, दिप्सन लिम्बूको संगीत रहनेछ।





