नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’
काठमाडौँ- नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्।
नेकपा नुवाकोट-काठमाडौँ सम्पर्क समन्वय समितिले शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रचण्डले अहिले विषम परिस्थितिमा निर्वाचन हुन लागेको भन्दै सुरक्षा निकाय, निर्वाचन आयोगलगायत सबैले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताएका हुन्।
नेपालका सेना, प्रहरी लगायत सबैमाथि भरोसा भए पनि सबै जिम्मेवार हुन नसके भदौ २४ को जस्तै घटना दोहोरिन सक्ने उनले बताए।
प्रचण्डले कुनै पनि हालतमा निर्वाचनमा धाँधली भयो भनेर प्रश्न उठाउने ठाउँ राख्न नहुने धारणा राखे। नेकपाले अहिले कसैसँग कुनै तालमेल नगर्ने र जनतामा भरमा अग्नि परीक्षा पार गर्ने उल्लेख गर्दै प्रचण्डले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहित बनाउन सके एक नम्बर पार्टी बनाउन कसैले रोक्न नसक्ने दाबी गरे।
भदौ २३ गते युवाहरूमाथि दमन गर्ने अतिवादी अहंकारी प्रवृत्ति र भदौ २४ गते विध्वंश मच्चाउने देशी विदेशी प्रतिक्रियावादीहरूका विरुद्ध नेकपा खडा भएको उनले बताए।
प्रचण्डले देशैभरको अवस्था हेर्दा नेकपाको पक्षमा उभारको स्थिति देखा परेको र पुराना भनिएका अन्य पार्टीहरू निकै असहज र अप्ठ्यारो परिस्थितिमा रहेको उल्लेख गरे। उनले निर्वाचनका क्रममा धाँधली हुन नदिन सबै बुथ र वडामा आवश्यक तयारी गर्न सर्कुलर समेत जारी गरिएको जानकारी दिए।





