फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्- पुटिनसँगको वार्तामा युरोपेली दृष्टिकोण आवश्यक

हिमाल प्रेस २७ माघ २०८२ १८:०४ | Tuesday, February 10, 2026
12
SHARES
फ्रान्सका राष्ट्रपति म्याक्रोन भन्छन्- पुटिनसँगको वार्तामा युरोपेली दृष्टिकोण आवश्यक

पेरिस- फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनमाथि रुसको आक्रमण सुरु भएको करिब चार वर्षपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग हुने कुनै पनि सम्भावित वार्तामा युरोपेली साझेदारहरूलाई सामेल गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।

गत हप्ता उनले आफ्ना शीर्ष कूटनीतिक सल्लाहकारलाई मस्को पठाएपछि सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्।

फेब्रुअरी २०२२ मा रुसले युक्रेनमाथि पूर्ण आक्रमण सुरु गरेयता यो स्तरको पहिलो प्रत्यक्ष सम्पर्क मानिएको छ। जर्मनीको सुडेउस्चे जाइटुङसहितका धेरै युरोपेली पत्रिकासँगको अन्तर्वार्तामा राष्ट्रपति म्याक्रोनले भने,‘मैले के निष्कर्ष निकालेँ भने रुस अहिले पनि शान्ति चाहँदैन भन्ने कुरा पुष्टि भएको छ।’

उनले भने,‘तर सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने हामीले प्राविधिक तहमा छलफलका ती च्यानलहरू पुनः निर्माण गर्न सफल भएका छौँ।’ यो अन्तर्वार्ता मंगलबार प्रकाशित भएको हो।

‘मेरो चाहना भनेको यो सम्पूर्ण प्रक्रिया मेरा युरोपेली साझेदारहरूसँग साझा गर्नु र एक सुव्यवस्थित युरोपेली दृष्टिकोणका साथ अगाडि बढ्नु हो’, उनले भने।

पुटिनसँगको वार्ता धेरै वार्ताकारहरूको भिडभाडबिनै, स्पष्ट जनादेशका साथ हुनुपर्ने उनको भनाइ छ। राष्ट्रपति म्याक्रोनले गत वर्ष युक्रेनविरुद्धको रुसको युद्ध अन्त्य गर्न वार्ताको पहल अमेरिकालाई मात्र छोड्नु उपयुक्त नहुने र युरोप आफैँले पनि पुटिनसँग पुनः सम्पर्क गर्नुपर्ने विश्वास व्यक्त गरेका छन्।

प्रकाशित: २७ माघ २०८२ १८:०४ | Tuesday, February 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast