निर्वाचनमा शिक्षकलाई तह र श्रेणीअनुसार जिम्मेवारी नदिएकोमा महासंघको आपत्ति

हिमाल प्रेस १० फागुन २०८२ १०:१७ | Sunday, February 22, 2026
30
SHARES
निर्वाचनमा शिक्षकलाई तह र श्रेणीअनुसार जिम्मेवारी नदिएकोमा महासंघको आपत्ति नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशाेर सुवेदी। फाइल तस्बिर।

काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचन स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न खटाइएका शिक्षकहरूलाई तह र श्रेणीअनुसार जिम्मेवारी नदिइएको भन्दै आपत्ति जनाएको छ।

महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमा देशका विभिन्न भागका मतदान केन्द्रहरूमा निर्वाचन आयोगबाट विभिन्न जिम्मेवारीसहित शिक्षकहरू खटाइएको उल्लेख गर्दै निर्वाचन कार्यमा शिक्षकहरूको संलग्नतामा कन्जुस्याइँ गरिएको तथा खटाइएका स्थानमा समेत तह र श्रेणीलाई विचार नगरी कनिष्ठ जिम्मेवारी दिइएको जानकारी विभिन्न जिल्लाबाट प्राप्त भएको जनाएको छ।

महासंघले शिक्षकलाई निर्वाचनमा खटाउँदा निजले अध्यापन गरिरहेको तह र श्रेणीलाई दृष्टिगत गरी सोहीअनुसार उपयुक्त जिम्मेवारी दिन बारम्बार आग्रह गर्दै आएको स्मरण गराउँदै अझै पनि त्यस प्रकारको विभेद गरिनु उचित नभएको स्पष्ट पारेको छ।

निर्वाचन आयोगसमक्ष यस विषयमा गम्भीर हुन र शिक्षकहरूको मर्यादा तथा पेसागत हैसियतअनुसार जिम्मेवारी सुनिश्चित गर्न विज्ञप्तिमा जोडदार माग गरिएको छ। तह, श्रेणी र मर्यादामा आघात पुग्ने गरी दिइएको जिम्मेवारी सम्पन्न गर्न शिक्षकहरू बाध्य नहुने चेतावनी समेत महासंघले दिएको छ।

प्रकाशित: १० फागुन २०८२ १०:१७ | Sunday, February 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast