विमर्शकर्ता भन्छन् : ‘बगावतनामा’ ले प्रेम र विद्रोहमात्र हाेइन विभेदरहित समाजको पनि अपिल गर्छ 

हिमाल प्रेस १८ माघ २०८२ १५:५३
10
SHARES
विमर्शकर्ता भन्छन् : ‘बगावतनामा’ ले प्रेम र विद्रोहमात्र हाेइन विभेदरहित समाजको पनि अपिल गर्छ 

काठमाडौँ- रिमा केसीको कवितासंग्रह ‘बगावतनामा’ माथि काठमाडौँमा अन्तक्रिया गरिएको छ। गणेश खनियाले सहजीकरण गरेको कार्यक्रममा वक्ताका रुपमा अभियन्ता तथा लेखक राधा पौडेल, प्रा. डा. हेम भण्डारी र कवि लक्ष्मी रुम्बा थिए।

अभियन्ता तथा लेखक राधा पौडेलले संग्रहमा महिला हिंसा, बलात्कारजस्ता विषयलाई समेटेको बताइन्। कवि केसीले कवितासंग्रहमार्फत विभेदरहित समाजको लागि अपीलसमेत गरेको उनको भनाइ छ।

‘हामीलाई कहिले हिंसात्मक बलात्कार गर्छन्, कहिले भावनात्मक वलात्कार। राजनैतिक घोषणापत्रसमेत महिलाका विषयमा मौन रहेको बेला यी कविताले छुटेका यस्तै विषयहरुलाई समेटेको छ,’ उनले भनिन्, ‘यी कविताहरूले छद्म चरित्रका मान्छे र प्रवृत्तिको प्रतिवाद गरेको छ। कविताले समाजमा रहेका विभेद, क्रूरताको विरोध मात्र गर्दैनन्, विभेदरहित समाजको लागि अपिल पनि गर्छ।’

केसीको कविताले परम्परागत लेखन मान्यतालाई भत्काएर प्रतिरोधलाई कविताको नयाँ शैली र सौन्दर्यका रुपमा स्थापना गरेको त्रिविमा प्राध्यापनरत डा. हेम भण्डारीले बताए। ‘परम्परागत व्याकरण नै भत्काइदिएका छन् यी कविताले। दोहोरो चरित्रमा बाँचेका, विषाक्त पितृसत्ता तथा सामाजिक विभेदका वाहकलाई कविताबाटै चुनौती दिएकी छन् कवि रिमाले,’ कवितामा व्यक्त गर्ने तरिका साधारण भएपनि त्यसमा व्यंग्य र कटाक्ष मिश्रित रहेको उनको धारणा थियो।

कवि लक्ष्मी रुम्बाले केसीको कविताले निम्न वर्गीय तथा उत्पीडनका कुरा उठाएको बताइन्। उनले भनिन्, ‘सामाजिक घटनाको सूक्ष्म अवलोकनमा आफ्नै अनुभूति मिसाएर लेख्छिन् कवि रिमा। आक्रोश त पोखिएका छन् यहाँ, तर अतिरन्जित लाग्दैन। लोभलाग्दो लाग्छ उनको साधारण शब्द चयन तर सशक्त अभिव्यक्ति।’

कवि केसीको कवितामा प्रेम र विद्रोहका दुई बृहत् पाटाभित्र गुजुल्टिएर बसेका अनेक विषयहरु समेटिएका छन्।

याे पनि

रिमा केसीको ‘बगावतनामा’ : प्रेम र विद्रोहको द्वन्द्वात्मक सुगन्ध

प्रकाशित: १८ माघ २०८२ १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast