चितवन- चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र नेकपा एमालेका मतदाताले यसपटक आफ्नै चुनाव चिह्नमा मतदान गर्न पाउने भएका छन्।
निर्वाचनका समयमा अन्य दलसँग तालमेल गर्दा १२ वर्षदेखि आफ्नो चुनाव चिह्नमा मत हाल्न नपाएका उनीहरूले यसपटक आफ्नो उम्मेदवार भएसँगै मतदान गर्ने अवसर पाएका हुन्।
नेपाली कांग्रेसले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका र २०७४ सालमा राप्रपाका उम्मेदवारलाई सघाएको थियो।
माओवादी केन्द्रका डा.भोजराज अधिकारी र राप्रपाका बिक्रम पाण्डेलाई सघाएकाले मतपत्रमा रुख चुनाव चिह्न नभएको जिल्ला सभापति राजेश्वर खनालले बताए।
नेकपा एमालेले २०७९ को प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार दिनेश कोइराला र २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सघाएको थियो।
जिल्ला इञ्चार्ज देवी ज्ञवालीले २०७० सालको संविधानसभा निर्वाचनपछि अहिले आफ्नो चुनाव चिह्नमा मतदान गर्न लागेको बताए।उनले भने, ‘निकै उत्साहका साथ १२ वर्षपछि हामी सूर्य चिह्नमा मतदान गर्दै छौँ।’
२०७० मंसिर ४ मा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा तत्कालीन नेपाली कांग्रेसका सभापति सुशील कोइराला निर्वाचित भएका थिए। पछि उनी प्रधानमन्त्री पनि बने।
अहिले यो निर्वाचन क्षेत्र नं ३ मा पर्छ। दुई ठाउँमा निर्वाचित भएपछि कोइरालाले चितवन क्षेत्र नं ४ छाडेका थिए। त्यसपछि भएको उपचुनावमा नेपाली कांग्रेसका रामकृष्ण घिमिरे विजयी भएका थिए।
उपनिर्वाचनमा एमाले र कांग्रेसले आआफ्नै चुनाव चिह्नमा मतदान गरेका थिए। त्यसपछि भएको संसदीय निर्वाचनमा आफ्नो चुनाव चिह्नमा मतदान गर्न पाएका थिएनन्।
२०५६ मा चितवनमा चार वटा क्षेत्र थिए। २०६४ मा आउँदा पाँच वटा र २०७० मा पनि पाँच वटै कायम भयो। २०७४ मा तीन वटा क्षेत्र भए। तीन वटा क्षेत्र कायम भएपछि एमाले र तत्कालीन नेकपा माओवादी बीच एकता भयो र पार्टी नेकपा बन्यो। नेकपाबाट उम्मेदवार भएका पार्टीका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निर्वाचित भएका थिए।
प्रचण्डले राप्रपाका विक्रम पाण्डेलाई नौ हजार ३४१ मतान्तरले पराजित गरेका थिए। तत्कालीन समयमा पार्टी एकताका कारण नेकपा एमालेले दाहाललाई मतदान गरेको थियो।
२०७९ को चुनावमा यस क्षेत्रमा राप्रपाका विक्रम पाण्डे विजयी भएका थिए। पाण्डेले आफ्ना निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका भोजराज अधिकारीलाई नौ हजारभन्दा बढी मतान्तरले पराजित गरेका थिए।
अधिकारी कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट उम्मेदवार बनेका थिए। पाण्डेले ३५ हजार ५५ मत ल्याउँदा अधिकारीले २५ हजार ८२२ मत ल्याएका थिए।
यस क्षेत्रमा कांग्रेसबाट बागी उठेका दिनेश कोइरालालाई एमालेले सघाउने निर्णय गरेको थियो। उनको निर्वाचन चिह्न माछा थियो।
एमालेले मतदातालाई निर्देशन दिएर माछा चिह्नमा भोट हाल्न लगाएको थियो। कोइरालाको १२ हजार ५७ मत आएको थियो। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बरालले तेस्रो स्थान प्राप्त गरेकी थिइन्। उनले १४ हजार ८४२ मत ल्याएकी थिइन्।
आसन्न प्रतिनिधिसभा निर्वाचनमा चितवन क्षेत्र नं ३ मा कांग्रेस र एमाले दुवै पार्टीका उम्मेदवार रहेका छन्। कांग्रेसबाट टेकप्रसाद गुरुङ र एमालेबाट युवा नेता शंकरराज थपलिया उम्मेदवार छन्। कांग्रेस एमालेका दुवैको चुनाव चिह्न यसपटकको निर्वाचनमा रहेका छन्।
यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट रेनु दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोविता गौतम उम्मेदवार छन्। राप्रपाबाट दीपक थापामगर उम्मेदवार छन्। यस क्षेत्रमा दल र स्वतन्त्र गरी २३ जना उम्मेदवार छन्। यस क्षेत्रमा भरतपुर महानगरपालिकाका १९ वटा वडा र माडी नगरपालिका पर्दछ।
यस क्षेत्रमा एक लाख ५५ हजार ३०९ जना मतदाता रहेका छन्। तीमध्ये ७५ हजार ६९६ जना पुरुष र ७९ हजार ६१२ जना महिला एवं एक जना तेस्रोलिङ्गी रहेका छन्। उनीहरुले ६३ वटा स्थल र १७४ वटा केन्द्रबाट मतदान गर्नेछन्।





