कठ्यांग्रिदो जाडोको प्रवाह नगरी लाखौँले गरे पशुपति दर्शन, चार प्रहरमा पनि गरियो पूजा

हिमाल प्रेस ४ फागुन २०८२ १०:०२ | Monday, February 16, 2026
8
SHARES
कठ्यांग्रिदो जाडोको प्रवाह नगरी लाखौँले गरे पशुपति दर्शन, चार प्रहरमा पनि गरियो पूजा

काठमाडौँ- चिसो स्याँठ र कठ्यांग्रिदो जाडोको प्रवाह नगरी हजारौँ भक्तजनले आइतबार रातभर पशुपतिनाथसहित देशभरका शिवालयमा महाशिवरात्रि मनाएका छन्।

बिजुली बत्तीले झिलिमिली बनेको पशुपति क्षेत्रमा आइतबार साँझदेखि सुरु भएको भक्तजनको भीड सोमबार बिहानसम्मै कायमै रह्यो। भक्तजनको चाप अत्यधिक भएपछि पशुपति क्षेत्र विकास कोषले यो वर्ष रातभर मन्दिरको मूलढोका खुला राखेको थियो। पशुपतिनाथमा आइतबार सूर्यास्तपछि सुरु भएको महाशिवरात्रिको चार प्रहरको पूजा आज बिहान ६ बजे सम्पन्न भयो।

विगतका वर्षमा राति १० बजेपछि मूलढोका बन्द गरेर चार प्रहर पूजा गर्ने गरिए पनि यसपालि राति अबेरसम्म भक्तजन लाइनमा बसेकाले ढोका बन्द नगरिएको कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिइन्। पशुपति क्षेत्रमा यस वर्ष लाखौँ भक्तजनले पूजा, आराधना र दर्शन गरेका छन्।

पशुपतिनाथसँगै गोकर्णेश्वर महादेव मन्दिरमा पनि आइतबार रातिसम्म भक्तजनको उत्तिकै भीड लाग्यो। पशुपतिमा श्रीयन्त्र र गोकर्णेश्वरमा बालयन्त्रको पूजा हुने शास्त्रीय मान्यताका कारण धेरै भक्तजन दुवै मन्दिर पुग्ने गर्छन्। भक्तजनको भीडका कारण जम्मा भएको फोहोरलाई आज बिहान वाग्मती सुन्दरता सरोकार मञ्चको नेतृत्वमा सफाइ गरिँदैछ। गोठाटारस्थित नागेश्वर महादेव मन्दिरमा पनि आइतबार बिहानैदेखि लागेको भक्तजनको लाम रातिसम्मै उस्तै थियो। नागेश्वरमा ६ जना ब्राह्मणद्वारा चारै प्रहर पूजाआराधना र रुद्राभिषेक सम्पन्न गरियो।

महाशिवरात्रिमा बाणेश्वर र नागेश्वरको दर्शन गर्नाले मुद्दामामिलाबाट छुटकारा पाउनुका साथै श्री प्राप्ति हुने धार्मिक विश्वास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजंग रायमाझीले बताए। राजधानीका अन्य शिवालयहरूमा पनि मध्यरातसम्मै भक्तजनको चहलपहल देखिएको थियो। रासस

प्रकाशित: ४ फागुन २०८२ १०:०२ | Monday, February 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast