काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अबको कांग्रेसले देशको ‘आसन, भाषण र शासन’मा आमूल सुधार गर्ने उद्घोष गरेका छन्।
निर्वाचन प्रचार अभियानका सन्दर्भमा लमजुङ पुगेका नेता शर्माले कांग्रेस जिल्ला कार्यालय भवनको उद्घाटन र बीपी कोइरालाको सालिक अनावरण गर्दै उक्त कुरा बताएका हुन्। कार्यक्रममा बोल्दै उनले सत्ता र शक्तिको लुछाचुँडी अन्त्य गर्न कांग्रेसले नयाँ मार्गचित्र कोरेको दाबी गरे।
उपसभापति शर्माले कुनै पनि व्यक्ति सत्तामा निरन्तर बसिरहने परम्परा तोड्न कांग्रेसले ‘१/२/३/४’ को नीतिलाई संविधानमै समावेश गर्ने प्रस्ताव अघि सारेका छन्।
‘कोही पनि व्यक्ति अब उप्रान्त प्रधानमन्त्री र मुख्यमन्त्रीमा दुई पटकभन्दा बढी रहन नपाउने संवैधानिक व्यवस्था हामी गर्नेछौँ’, शर्माले भने, ‘सत्ताको आसनमा टाँसिइरहने प्रवृत्तिले राजनीतिप्रति वितृष्णा जगाएको छ, यसलाई अब हामी बदल्छौँ।’
यसैगरी उनले चुनावी प्रतिस्पर्धालाई स्वस्थ बनाउनुपर्नेमा जोड दिए। शर्माले अन्य दलहरूलाई गालीको सट्टा प्रेमको राजनीति गर्न आग्रह गरे। निर्वाचन जित्नकै लागि जे पायो त्यही आश्वासन दिने र घोषणापत्रमार्फत जनतामा भ्रम छर्ने काम बन्द गर्नुपर्ने उनको तर्क थियो।
शर्माले भने, ‘स्वस्थ आलोचना लोकतन्त्रको सुन्दरता हो तर गालीले राजनीतिलाई सफा गर्दैन। भाषण र घोषणापत्र मार्फत समाजमा भोलि निराशा पैदा गर्ने कार्य कसैले गर्नु हुँदैन।’
दशको शासन व्यवस्थामा रहेका विकृतिहरूको केस्रा-केस्रा केलाएको बताउँदै शर्माले नयाँ पुस्ताको विद्रोह र भावनालाई सम्बोधन गरिने दाबी गरे। ‘देशलाई थाहा छ, कांग्रेस बदलिएको छ’, शर्माले भने, ‘जो आफैँ बदलिन्छ, उसैले मात्र देश बदल्न सक्छ। हामी बदलिएका छौँ र अब शासन बदल्ने हिम्मत राख्छौँ।’




