कांग्रेससँग देश चलाउने उत्साह र अनुभव छ : सभापति थापा

हिमाल प्रेस १ फागुन २०८२ १६:४० | Friday, February 13, 2026
10
SHARES
कांग्रेससँग देश चलाउने उत्साह र अनुभव छ : सभापति थापा सर्लाहीको धनकौलमा शुक्रबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै कांग्रेस सभापति गगनकुमार थापा।

सर्लाही– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कसैले नयाँ पार्टीमा भोट दिन्छु भनेमा त्यो कांग्रेस रहेको बताएका छन्। सर्लाहीको धनकौलमा शुक्रबार आयोजित कार्यक्रममा थापाले भने, ‘कसैले नयाँ पार्टी र नयाँ नेतृत्वमा भोट हाल्न चाहन्छ भने त्यो नेपाली कांग्रेस हो। किनभने कांग्रेस विरासतलाई बोकर नयाँ रूपमा नीति र नेतृत्व लिएर आएको छ।’

उनले अबको देश युवाहरूको काँधमा रहेको र युवाहरूलाई देखेको पछि खुसी लागेको बताए। थापाले युवाहरूले नै यो देश हाँक्ने भएकाले सक्रिय सहभागिता हुनुपर्नेमा जोड दिए। उनले भने, ‘सधैँ अरूले भन्ने गर्थे खै युवाहरू कहाँ छन्। तर आज यहाँ धनकौलमा युवाहरू खासगरी जेनजी पुस्ता देखेपछि धेरै खुशी भएको छु। उहाँहरूको विचार र क्षमताको म कदर गर्न चाहन्छु।’

थापाले मधेशको जग बलियो बनाउन शिक्षा जरुरी रहेको तर त्यसअघि भोटमार्फत युवाहरूले जिताउनुपर्ने बताए । उनले भने,’अहिले सर्लाहीलगायतका मधेशका जिल्लामा शिक्षा, स्वास्थ्य र सिचाइँ मुख्य समस्या हो। यहाँको जग नै बलियो बनाउनु छ।’

उनले अब कांग्रेसले घोषणापत्रमा पनि सर्लाहीको मागबारे ल्याउने तयारी भइरहेको बताए।
उनले कांग्रेस पार्टीसँग देश चलाउने उत्साह र अनुभव दुवै रहेकाले सर्लाही मात्रै होइन, देशको नेतृत्वका लागि जिम्मेवारी दिन आग्रह गरे। ‘देशको नेतृत्व गर्ने अवसर पाएमा के गर्ने भनेर ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ। प्रधानमन्त्री बनेपछि पाँच वर्षमा गर्ने कामको विस्तृत अध्ययन अनुसन्धान गरेका छौँ। त्यसलाई कार्यान्वयन गर्ने जिम्मा दिने अधिकार देशभरका मतदातामा छ’, सभापति थापाले भने।

प्रकाशित: १ फागुन २०८२ १६:४० | Friday, February 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast