एक सामुदायिक विद्यालय। फाइल तस्बिर ।
कैलाली- भजनी नगरपालिका-७ का सञ्जय लोनिया विगत तीन वर्षदेखि गाउँकै सामुदायिक विद्यालयमा अध्यापन गराउँदै आएका छन्।
वडामा रहेको हलौना बाबा आधारभूत विद्यालयमा अध्यापन गराउँदै आएका लोनिया वार्षिक रु २०/२५ हजार पारिश्रमिक पाउँछन्। त्यो पारिश्रमिक पनि ‘फिक्स’ हुँदैन।
अभिभावक, समाजसेवी तथा अन्य स्थानीयले स्वेच्छिक रूपमा जति संकलन गरेर दियो त्यसैमा लोनियाले चित्त बुझाउनुपर्ने हुन्छ।
ग्रामीण क्षेत्र आर्थिक अवस्था निकै कमजोर भएका बालबालिका अध्ययन गर्दै आएको उक्त विद्यालय व्यवस्थापन समितिले अभिभावकबाट चन्दा संकलन गरेर पारिश्रमिक दिने निर्णय गरेपछि उनले आफ्नो अध्ययनसँगै विद्यालयमा अंग्रेजी विषयको शिक्षण गराउँदै आएको बताए।
‘विद्यालयमा विद्यार्थी संख्याका आधारमा शिक्षक जनशक्ति कम छ। त्यसो हुँदा पठनपाठनमा समस्या भएपछि विद्यालय व्यवस्थापन समितिले चन्दा संकलन गरेर पारिश्रमिक दिनेगरी निर्णय गरेर मैले अध्यापन गराउन थालेको हुँ’, उनी भन्छन्, ‘न्यून पारिश्रमिक भए पनि गाउँको विद्यालय, आफ्नै बालबालिका अध्ययन गर्ने भएपछि मैले समितिको निर्णय स्वीकार गर्दै काम गरिरहेको छु।’
यसपछिका बालबालिका शिक्षाको अभावमा अहिले हाम्रा अभिभावकले भोगेको जीवनशैली व्यतित नगरुन् भन्ने अपेक्षाका साथ बालबालिकाको भविष्यलाई सोचेर पैसाका लागि मात्र शिक्षण नगरेको लोनिया बताउँछन्।
कक्षा १२ सम्मको अध्ययन गरेका उनी त्यो गाउँको त्यहाँसम्म अध्ययन गर्नेमध्येका एक हुन्। थारु बाहुल्यता रहेको काँढा गाउँका अधिकांश नागरिक कृषि र ज्यालादारी गरेर जीविकोपार्जन गर्दै आएका छन्।
त्यहाँ पढाइ गर्नुपर्छ भन्ने मानसिकता निकै कमको भएको लोनिया बताउँछन्। ‘यहाँ पढाइ गर्नुपर्छ भन्ने निकै कम छन्। सबैलाई जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्ता मात्रै हुन्छ,’ उनले भने,‘त्यो देखेर पनि मैले बालबालिकालाई पढाइमा लगनशील बनाउन स्थानीयको आग्रहमा काम गरिरहेको छु।’
उनले अहिले अंग्रेजी र स्वास्थ्य शारीरिक शिक्षाको अध्यापन गराउँदै आएका छन्। दैनिक ६ घन्टी अध्यापन गराउँदै आएका लोनिया आफ्नै गाउँघरका बालबालिकालाई अध्यापन गराउन पाउँदा निकै खुसी छन्।
विद्यालयमा हाल १७१ जना विद्यार्थी अध्ययन गरिरहेका छन्। पाँच कक्षासम्मको अध्ययन हुँदै आएको विद्यालयमा लोनियाबाहेकका छ जना शिक्षक कार्यरत छन्। त्यसमा पनि दुईजना बालविकास, दुईजना प्राथमिक तह स्थायी, एक जना राहत र एक जना नगर अनुदानका कार्यरत छन्।
विद्यार्थी संख्याका आधारमा शिक्षक संख्या कम भएकै कारण स्थानीयले लोनियालाई चन्दा संकलन गरेर शिक्षकको जिम्मेवारी दिइएको प्रधानाध्यापक महेश्वरी ओझा बताउँछन्।
विद्यालयसँग आम्दानीको कुनै स्रोत छैन। तीन कट्ठामा सीमित रहेको विद्यालयसँग पाँच बिघाभन्दा बढी ऐलानी जग्गा छ। जुन ऐलानी जग्गा स्थानीयले अतिक्रमण गरेर वर्षौँदेखि भोगचलन गर्दै आएका छन्।
२०६३ मा स्थापना भएको विद्यालयका लागि त्यसबेला विद्यालयसँग जोडिएको पाँच बिघाभन्दा बढी जग्गा अतिक्रमण खाली गरेर विद्यालयको आम्दानीसँग जोड्ने निर्णय भएर हस्तान्तरणसमेत भएको थियो। पछि पुनः स्थानीयले जग्गा अतिक्रमण गरेर भोगचलन गर्न थालेपछि विद्यालय समस्यामा पर्दै गएको प्रधानाध्यापक ओझाको भनाइ छ।
‘आज हामीसँग भएको सबै जग्गा भोगचलन गर्न पाएको भए विद्यायलको सामान्य खर्च अनि एक जना शिक्षक आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न कुनै समस्या हुने थिएन’, प्रधानाध्यापक ओझा भन्छन्, ‘सञ्जय सर तीन वर्षदेखि अध्यापन गराउँदै आउनुभएको छ। वार्षिक रु १५/२० हजार पारिश्रमिक लिएर दिनभर काम गरेको देख्दा आफैँलाई अप्ठ्यारो लाग्छ। उनको काम अनि इमान्दारिताका अगाडि नतमस्तक हुनुबाहेक केही छैन।’
भजनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज भट्टले विद्यालयमा शिक्षकको व्यवस्थापन अस्तव्यस्त रहेको बताए। ‘केही दिन अगाडि मात्र विद्यालय अनुगमन गर्दा कतै विद्यार्थी अनुपातमा धेरै शिक्षक छन् भने कतै शिक्षकको अभाव छ’, उनी भन्छन्, ‘आउने शैक्षिकसत्रबाट त्यसलाई व्यवस्थापन गरेर लैजाने तयारी गरेका छौँ।’
उनले शिक्षक लोनियाको कार्य निकै उत्कृष्ट भएको उल्लेख गर्दै अध्ययन अनुमतिपत्र नभएका कारण तत्काल लोनियाको विषयमा नगरपालिकाले कुनै निर्णय लिनसक्ने स्थिति नरहेको बताए।
अनुगमनका क्रममा कतिपय शिक्षक दुईपटकको हाजिर एकैपटक लगाएर बिहानै विद्यालयबाट घर जाने गएको भेटिएको बताउँदै शिक्षा अधिकृत पङ्खबहादुर शाहले कैयौँ गल्ती कमजोरीलाई सुधार्ने काममा आफूहरू लागेको बताए।





