काठमाडौँ- हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। सोमबार बिहान तराई भूभागका थोरै स्थानहरूमा हुस्सु लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ। बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु, कुहिरो रहनेछ। दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ र बाँकी भूभागको मौसम मुख्यतया सफा रहने छ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा दिउँसो हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ।सोमबार राति पनि तराई भूभागका थोरै स्थानहरूमा हुस्सु रहनेछ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी र हिमाली भूभागमा साधरणतया बादल लाग्ने र बाँकी भूभागमा आंशिक बादल लाग्ने पूर्वानुमान छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानमा राति पनि हल्का वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।



