निर्वाचनसम्बन्धी सामग्री रुजु गर्दै कर्मचारी। फाइल तस्बिर।
तनहुँ- यही फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण मतपत्र तनहुँमा आइपुगेको छ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार निर्वाचन क्षेत्र नं.१ का लागि दमौली र क्षेत्र नं. २ का लागि दुलेगौँडास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपत्र सुरक्षित राखिएको छ भने अन्य आवश्यक निर्वाचन सामग्रीको व्यवस्थापन पनि भइसकेको छ।
कुल २ लाख ५४ हजार ३९७ मतदाता रहेको जिल्लामा निर्वाचनलाई मर्यादित र व्यवस्थित बनाउन मतदान अधिकृत तथा सहायक मतदान अधिकृतहरूलाई फागुन ११ र १२ गते विशेष तालिम प्रदान गरिँदै छ।
बदर मतको संख्या न्यूनीकरण गर्ने उद्देश्यले जिल्लाका १० वटै पालिकामा स्वयंसेवक परिचालन गरी नयाँ मतदाता, ज्येष्ठ नागरिक तथा लक्षित वर्गलाई मतदान प्रक्रिया, मतपत्रमा छाप लगाउने सही तरिका र निर्वाचन आचारसंहिताका विषयमा व्यावहारिक शिक्षा दिएको छ।




