नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट गोरखा-२ मा लेखनाथ न्यौपाने चुनावी मैदानमा छन्। पहिलोपटक चुनावी मैदानमा उत्रिएका न्यौपाने बौद्धिक, बेदाग र स्थानीय स्तरमा सक्रिय रहँदै जनताका समस्या र आवश्यकतासँग नजिकबाट परिचित छन्। विद्यार्थी राजनीतिबाट उदाएका न्यौपाने पार्टीभित्र र बाहिर आलोचनात्मक चेतका नेता मानिन्छन्। न्यौपाने लेखक पनि हुन्। विकास, सुशासन र जनमुखी सेवामा विश्वास राख्ने न्यौपानेसँग उनको चुनावी अभियानका विषयमा गरिएको कुराकानी :
तपाईँको चुनावी अभियान कसरी अगाडि बढेको छ?
नियमित र सामान्य प्रक्रियाबाटै अगाडि बढेको छ। टोलटोलमा जाने, मतदातासँग भेट गर्ने, आफ्नो कुरा राख्ने, जनताको, मतदाताको कुरा सुन्ने, नोट गर्ने र अगाडि बढ्ने एउटा साधारण तरिकाबाट चुनावी अभियान चलिरहेको छ।
जनतालाई आफ्ना के कुरा भन्नुभएको छ र जनताले कस्ता कुरा सुनाएका छन् नि?
विकास निर्माण, समृद्धिको कुरा बाँड्ने, त्यसका बारेमा काम नहुने हिजाका दिनमा समग्र राजनीतिको समस्या थियो। प्रतिनिधिसभा सदस्यले गर्ने काम के हो, उसको क्षत्राधिकार कति हो, कानुनी अधिकार कति हो, उसले गर्न सक्ने कति हो भन्ने विषयवस्तुलाई ख्याल गरेर तपाईँहरूले निर्वाचित गरेर पठाएका प्रतिनिधिसभाका सदस्यले मूलतः संसद् भवनभित्र खेल्ने भूमिकालाई प्रभावकारी बनाउन सुझाव चाहिन्छ भनेर मैले भनेको छु।
सांसदले ऐन, कानुन, नियम, विकासका नीतिहरू बनाउने हो। त्यसलाई बुझाउने प्रयत्न गरिएको छ। हामीकहाँ विकास निर्माणदेखि लिएर सांसदले सबै काम गर्ने हो भन्ने गलत पद्धति बसेको छ। स्थानीय सरकारले गर्ने काम, मध्यम खालका परियोजनाहरू प्रदेश सरकारले गर्ने काम र राष्ट्रिय गौरवका परियोजना मात्रै केन्द्र सरकारले गर्ने काम। केन्द्र सरकारको पक्ष संसद् भएको हुनाले त्यसलाई ठूला परियोजनाहरूमा नीतिगत र कार्यक्रमिक क्षेत्रमा काम गर्छ भन्ने विषयवस्तु बुझाउने कोसिस गरिएको छ।
जनताको प्रतिक्रियाचाहिँ नीतिगत कुरो, संसदभित्रको कुरोमा कम ध्यान गएजस्तो र विकास निर्माणमा के प्रतिबद्धता हो, त्यो गर्छ कि गर्दैन, चुनाव अगाडि गर्छु भन्छ, चुनाव जितेपछि गर्छ कि गर्दैन, के गर्ने भन्ने ढंगका प्रश्नहरूचाहिँ सायद अन्य उम्मेदवार साथीहरूलाई सोधेका होलान्, मसँग पनि मतदाताले सोधेका छन्।
तपाईँ त पहिलो पटक आफ्ना लागि मत माग्दै घरदैलो अभियानमा हुनुहुन्छ। व्यक्तिगत रूपमा भन्दा कत्तिको उत्साहित हुनुहुन्छ?
यसअघिका निर्वाचनमा मेरो पार्टीका उम्मेदवारलाई मत माग्न घरदैलोमा पुगेको हुनाले यो नयाँचाहिँ भएन तर उत्साह भनेकोचाहिँ चुनावलाई असाध्यै जीवनमरणको विषयवस्तु बनाउँछौँ, जसरी पनि जुनसुकै हथकन्डा अपनाएर पनि जित्नुपर्छ भन्ने मानसिकता हुन्छ। साम, दाम, दण्ड भेद सबै गरेर चुनाव जित्ने हुँदा अलि बढी दबाबमा हुन्छ होला। तर मचाहिँ सरल कुरा गर्ने, सरल ढंगबाट जनताका बीचमा जाने, जनतालाई त्यही ढंगको छलफल गर्ने हुँदा म दबाबमा पनि छैन र म एक किसिमले उत्साहमा पनि छु।
गोरखा-२ मा नेपाली कम्युनिस्ट पार्टी, नेपाली कांग्रेस संगठनात्मक रूपमा दह्रो छन्। अहिले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति देशव्यापी रूपमा लहर छ। यसकारण यहाँ आफ्नो मुख्यप्रतिस्पर्धी, चुनातीको रूपमा कसलाई कसरी लिनुभएको छ नि!
चुनाव भनेकै दलीय प्रतिस्पर्धा हो। दलीय व्यवस्थामा दलकै प्रतिस्पर्धा हुन्छ। दलले आफ्ना प्रतिनिधिहरू जनताका बीचमा पठाउँछ। जनताले आफ्ना विवेक प्रयोग गर्छन्। स्वतन्त्रता प्रयोग गर्छन् र त्यो आधारमा जसले सबैभन्दा बढी मत ल्याउँछ उसले जित्ने हाम्रो प्रणाली हो। त्यसकारण को प्रतिस्पर्धी हो को होइन, को बलियो हो को कमजोर हो भन्ने चाहिँ मैले भन्ने कुरा होइन। किनभने यो जनताले भन्ने कुरा हो। हामी मतमा विश्वास गर्ने भएकाले हुनाले जनताको फैसला हामी आफैँ गर्न थाल्यौं भने त्यो जनताप्रतिको अविश्वास हुन्छ। त्यस कारण जति पनि दल र स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ती सबै एकआपसमा प्रतिस्पर्धी हुन र जनताको बीचमा जाने माध्यम भएको हुनाले को प्रतिस्पर्धी हुन होइन मैले भन्न मिल्दैन। अरूले पनि भन्न मिल्दैन।
२०७९ को चुनावमा यहाँकै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जनताले जिताए। चुनाव जितेपछि उहाँ क्षेत्र फर्किनु भएन र काम पनि गर्नु भएन भन्ने असन्तुष्टि छ। अहिले यहाँ पनि उम्मेदवार भएर घरदैलोमा हुनुहुन्छ। पटकपटक यहाँहरूलाई किन मत दिने भन्ने कुराहरू पनि आइरहेका छन्। यसबारे के भन्नुहुन्छ नि!
यो प्रश्न कसले गर्यो, कुन विषयले गर्यो, फन्डाका निम्ति भन्यो कि, अर्कालाई कमजोर बनाएर आफू बलियो हुन भन्यो कि त्यसमा अध्ययन गर्नपर्छ। भन्नका निम्ति भन्ने एउटा कुरा हो। राष्ट्रिय पार्टीको अध्यक्ष, प्रधानमन्त्री भइसकेको मान्छे, त्यो स्तरको नेता सांसद भइसकेपछि जिल्लामा जति काम गरिन्छ त्यो अरुबाट हुन सक्दैन भन्ने पूर्वाअनुमान नै गरेका थियौं। उहाँ प्रत्यक्ष सहभागी हुन नसके पनि उहाँले जिल्लाको विकास र समृद्धिका निम्ति मसिनो गरी, डेटामा, तथ्यांकमा हेर्नुपर्छ।
स्थानीय सरकारमार्फत हेर्ने हो भने प्रचण्ड प्रधानमन्त्री भएको बेलामा गोरखामा ठूलाठूला परियोजनाका निम्ति बजेट विनियोजन भएको छ। यस विषयमा जनतालाई हामीले बुझाउन सकेनौं होला। कतिले भ्रम छरेका होलान्। पाइपलाइनमा बसेका परियोजनाहरूको दृश्य देखिदैन। दृश्य देखिन केही वर्ष पर्खिन पर्छ। अहिले गरेका निर्णयहरू ३ वर्ष, ४ वर्ष, ५ वर्षपछि बल्ल परिणाम आउँछन्। त्यतिबेला परिणाम आउँदा आज पाइपलाइनमा बसेका कुरा बिर्सियो भने त्यो परिणाम अपुरो हुन्छ भन्ने कुरा पनि बुझ्नपर्छ। त्यसकारण अहिले त्यस्ता अपुग भएका विषयवस्तुहरू म त्यहीँको मतदाता र बासिन्दा, त्यही क्षेत्रमा केन्द्रित भएर काम गर्ने, पार्टीले प्रतिनिधि उठाएको हुनाले जति पनि समस्या सम्बोधन गर्नका निम्ति, समाधान गर्नका निम्ति, कसैले उठाएका प्रश्नहरू छन् भने पनि सम्बोधन गर्न सक्ने प्रशस्त आधारहरू छन्।
डा.बाबुराम भट्टराई संरक्षक भएको प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट सहयोगको अपेक्षा पक्कै राख्नुभएको होला!
बाबुराम दाइसँग कुराकानी भइरहेको छ। उहाँप्रति मेरो एकदमै सम्मान छ। मैले कुनै पनि राजनीतिक पार्टीका प्रतिस्पर्धी साथीहरूलाई गाली गर्ने, व्यक्तिगत हिसाबले नंग्याउने काम गर्नु हुँदैन भन्ने मेरो रोजनीतिक प्रतिबद्धता छ। यो राजनीतिको संस्कार पनि हो। त्यसकारण पनि बाबुराम दाइप्रति मेरो कुनै नकारात्मक टिप्पणी हुने कुरै भएन।
दोस्रो कुरा, उहाँका आफ्ना स्वतन्त्रता छन्। चुनाव लड्ने कि नलड्ने, उम्मेदवारी दर्ता गर्ने कि नगर्ने, फिर्ता गर्दा के गर्ने भन्ने उहाँको स्वतन्त्रता भएको हुनाले मैले अनेक टिप्पणी गर्न मिल्दैन। तेस्रो, हिजो हामी उहाँकै कार्यकर्ता। हिजोका दिनमा हाम्रो नेता, अहिले हाम्रो पार्टीको नेता नभए पनि राष्ट्रिय नेता हो। पूर्वप्रधानमन्त्री हो। त्यस कारण पनि थप सम्मान छ उहाँको पूर्वकार्यकर्ता हुनुको नाताले। हिजो सँगै लडेको, उहाँले हुर्काएको हामी जस्ता कार्यकर्ताहरूप्रति उहाँ नकारात्मक हुन मिल्दैन। सुहाउँदैन। उहाँ नकारात्मक हुनुहुँदैन जस्तो लाग्छ। बाबुराम दाइको बारेमा मैले योभन्दा बढी टिप्पणी गर्न मिल्दैन। त्यो अनावश्यक हुन्छ।
आफ्ना मतदातालाई के भन्नुहुन्छ?
कैयाैँ मौकाहरूमा मतदाताहरूको सार्वभौम, स्वतन्त्र अधिकार निर्णाय हुन्छ। हामीले आज गम्भीरतापूर्वक बुझेनौँ र मतदानमा अभिव्यक्त भयनौं भने कुनै राजनीतिक इतिहास नभएको, विचार र सिद्धान्त नभएको, लक्ष्य नभएको, नैतिकता र मूल्यको राजनीति नभएको पात्र र पार्टीका प्रतिनिधिहरू आउने खतरा छन्। त्यसपछि जनता सतर्क, सचेत हुनुपर्छ। त्यसकै आधारमा मतदान गर्नुपर्छ। उम्मेदवारहरूको क्षमता के हो, उसले संसदभित्र खेल्नसक्ने भूमिका के हो, उसको नैतिकता, चारित्रिक अवस्था के हो भन्ने कुरा बुझेर मात्रै मतदान गर्नुपर्छ। त्यसकारण हाम्रो गोरखा-२ का जनताले यि विषयवस्तुलाई बुझ्नु हुनेछ र बुझेर मतदान गर्नुहुनेछ।
बाबुराम दाइको सदासयता मप्रति छ : प्रकाशचन्द्र दवाडी [अन्तरवार्ता]
बाबुरामले हामीसँग संवाद गरेर उम्मेदवारी फिर्ता लिनुभएको हो : कविन्द्र बुर्लाकोटी [अन्तरवार्ता]




