काठमाडौँ- नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा शिक्षक कर्मचारीहरूलाई दलका उम्मेदवारसँग शिक्षा र शिक्षण पेसासम्बन्धी ज्वलन्त प्रश्न सोध्न आग्रह गरेका छन्।
सुवेदीले सामाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेअनुसार निर्वाचन नजिकिँदै गरेको र गाउँघरमा भोट माग्न आउने उम्मेदवारसँग शिक्षक कर्मचारीले शिक्षा क्षेत्रका मूल मुद्दामा स्पष्ट योजना र धारणा बुझ्न आवश्यक छ।
‘लोकतन्त्रमा प्रश्नभन्दा माथि कोही हुँदैन, प्रश्नबाट कोही पनि उम्कन पाउँदैन,’ सुवेदीले लेखेका छन्। उनले हरेक नागरिकले प्रश्न सोध्न र उम्मेदवारको क्षमता परख गर्न पाउनु पर्ने बताए।
अध्यक्ष सुवेदीले उम्मेदवारसँग अनिवार्य रूपमा सोध्नुपर्ने प्रमुख विषयहरूमा तीन मुख्य बुँदा जोड दिएका छन्।
पहिलो, आगामी संसद् अधिवेशनबाट महासंघ र सरकारबीच भएका सहमति सम्बोधन हुने गरी अग्रगामी शिक्षा ऐन जारी गर्ने विषयमा स्पष्ट धारणा र योजना। दोस्रो, विद्यालयका लागि आवश्यक भौतिक संरचना, छात्रवृत्ति व्यवस्था, प्रविधिमैत्री र रोजगारमुखी गुणस्तरीय शिक्षा सुनिश्चित गर्न शिक्षामा लगानी वृद्धि गर्ने प्रतिबद्धता। तेस्रो, विश्व प्रतिस्पर्धात्मक गुणस्तरीय शिक्षा प्रदान गर्न शिक्षण पेसालाई आकर्षक र मर्यादित बनाउँदै उत्कृष्ट जनशक्ति भित्र्याउने र टिकाउने रणनीति।
सुवेदीले यी प्रश्न शिक्षक कर्मचारी मात्र नभई अभिभावक र विद्यार्थीका साझा सरोकारका विषय भएको बताएका छन्। उनले भनेका छन्, ‘भोलिको मुलुक कस्तो हुने भन्ने खाका कोर्ने प्रश्न भएकाले यी विषयमा उम्मेदवारको स्पष्ट योजना बुझ्न आवश्यक छ।’




