राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन
कास्की- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिलेको शासन व्यवस्थामा नै समस्या रहेकाले व्यवस्था परिवर्तन गर्नुपर्ने बताएका छन्।
पोखरामा आज (बुधबार) राप्रपाको चुनावी कोणसभामा उनले अहिलेकै व्यवस्था कायम राखेर देश विकास नहुने भएकाले राप्रपाले विकल्प खोजेको उल्लेख गरे।
‘देशमा सुशासन भएन, राजनीतिक दलका नेताहरू भ्रष्टाचारमा रमाए भनेर सबैले भन्दै आएका छन्। राजनीतिक दल र नेतामा मात्र समस्या होइन, अहिलेको व्यवस्थामा नै समस्या छन्, परिवर्तनका लागि हामीलाई भोट दिनुहोस्,’ अध्यक्ष लिङ्देनले भने।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र अहिलेको नयाँ राजनीतिक दल रास्वपामा समेत कुनै भिन्नता नभएको उनले जिकिर गरे। अध्यक्ष लिङ्देनले भने, ‘गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको प्रस्तावक माओवादी हो। पुराना र नयाँ दलले गणतन्त्र, धर्मनिरपेक्षतालाई स्वीकार गरेका छन्। यी सबै दलको विकल्प भनेको राप्रपा हो।’
लिङ्देनले देशको समस्या समाधानका लागि सबै पक्ष मिलाएर नवीन समझदारी आवश्यक रहेको बताए।
राप्रपाले आजै कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा कोणसभा आयोजना गरेको छ।





