७ महिनामा ३० हजार ३४ सवारीसाधन चालक कारबाहीमा

हिमाल प्रेस ९ फागुन २०८२ १३:४१ | Saturday, February 21, 2026
8
SHARES
७ महिनामा ३० हजार ३४ सवारीसाधन चालक कारबाहीमा फाइल तस्बिर

बागमती- जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको अवधिमा ७६ लाख ४६ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक बच्चुराम फुयाँलका अनुसार उक्त अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने आठ हजार ४१४ सवारीसाधन चालकमाथि कारबाही गरिएको छ ।

कार्यालयले अघिल्लो आव २०८१/८२ मा ट्राफिक नियम उल्लंघन गर्ने ३० हजार ३४ सवारीसाधन चालकमाथि कारबाही गरी दुई करोड ४१ लाख ४५ हजार ५४ राजस्व सङ्कलन गरेको थियो ।

प्रहरी निरीक्षक फुयाँलका अनुसार मकवानपुर जिल्लामा चालु आवमा भएका १९६ सवारी दुर्घटनामा परी ३२ जनाको मृत्यु भएको छ भने ३८६ जना घाइते भएका छन् । अघिल्लो आव २०८१–८२ मा मकवानपुरमा ४०७ सवारी दुर्घटनामा परी ५० जनाको मृत्यु भएको थियो भने ९६५ जना घाइते भएका थिए ।

पछिल्लो समय सञ्चालन गरिएको ट्राफिक सचेतना र नियमति ट्राफिक चेकजाँचका कारण सवारी दुर्घटनामा हुने मानवीय क्षतिमा कमी आउनुका साथै ट्राफिक नियम उल्लङ्घनकर्ताको सङ्ख्यासमेत घट्दै गएको प्रहरी निरीक्षक फुयाँलले बताए ।

‘हामीले ट्राफिक नियम र दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना कार्यक्रमसँगै सडकमा ट्राफिक जाँचमा कडाइ गरेका छौँ’, उनले भने, ‘आव २०८२–८३ मा मात्रै विद्यार्थी, नयाँ चालक, व्यवसायी, कर्मचारीलगायत गरी ५४७ पटक ट्राफिक नियमसम्बन्धी सचेतनामूलक सहजीकरण गरेका छौँ । त्यसबाट ३९ हजार २४६ जनालाई सचेतना दिइएको छ।’

यसबाहेक ठाउँ ठाउँमा पर्चा, पम्पलेट, स्टिकर टाँसेर र समय समयमा चालकहरूको निःशुल्क स्वास्थ्य परीक्षणसमेत गर्दै आएको फुयाँलले बताए । उनले बढ्दो सवारीसाधनको चाप, साँघुरो सडक, चालकको लापर्वाही तथा सडकमा छाडिने पशुचौपायाका कारण सवारी दुर्घटना हुने गरेकाले यसबारे पनि सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको बताए।

प्रकाशित: ९ फागुन २०८२ १३:४१ | Saturday, February 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast