काठमाडौँ- नेपाली कांग्रेसले जनकपुरधाममा गर्न लागेको आमसभाको तयारी तीव्र बनाएको छ। कांग्रेसले फागुन ६ गते आयोजना गर्न लागेको सभाको तयारी तीव्र पारेको हो।
नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समिति मधेशका संयोजक नितेशकुमार गुप्ताले तीव्र रूपले कार्यक्रमको तयारी अगाडि बढाएको बताए। उनले स्थानीय तिरहुतिया गाछीमा दिउँसो कार्यक्रम सुरू हुने जानकारी दिए।
‘भव्य ढंगबाट कार्यक्रमको तयारी थालिएको छ,’ उनले भने,‘कार्यक्रमका लागि हामी अन्तिम तयारीको चरणमा छौँ, विशाल आमसभाको आयोजना हुनेछ।’
गुप्ताले कार्यक्रममा प्रदेशका आठै जिल्लाका नेता, कार्यकर्ता, शुभेच्छुकसहित एक लाखको सहभागिता रहने दाबी गरे। उनले भने,‘एक लाखभन्दा बढीको सहभागिता रहनेछ, सबै जना आ–आफ्नो सवारी साधन प्रयोग गरेर आउनु हुनेछ।’
मधेश प्रदेशका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवको सभापतित्वमा हुने कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सभापति गगन थापा रहनेछन्। कार्यक्रमलाई कांग्रेस सभापति थापा, उपसभापति विश्वकप्रकाश शर्मालगायतका नेताले सम्बोधन गर्ने गुप्ताले बताए।
त्यस्तै कार्यक्रममा प्रदेशका ३२ वटै निर्वाचन क्षेत्रमा प्रतिस्पर्धा गरिरहेका पार्टीका उम्मेदवारहरू पनि सहभागी हुने उनले बताए।
जनकपुरधामको सभाबाटै कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संकल्पपत्र सार्वजनिक गर्ने भएको छ। यसअघि आइतबार काठमाडौँमा चुनावी संकल्पपत्र सार्वजनिक गर्ने कार्यक्रम भए पनि कांग्रेसले स्थगित गरेको थियो।
कांग्रेस प्रवक्ता देवराज चालिसेले काठमाडौँमा संकल्पपत्र सार्वजनिक गर्ने तयारी गरे पनि स्थगन गरी फागुन ६ गते मधेश प्रदेशबाट सार्वजनिक गरिने बताए।




