आमनिर्वाचन

कोशीका २८ निर्वाचन क्षेत्रमा को कहाँबाट उम्मेदवार ?

विवेक विवश रेग्मी ६ माघ २०८२ २०:१७
104
SHARES
कोशीका २८ निर्वाचन क्षेत्रमा को कहाँबाट उम्मेदवार ?

इटहरी- कोशी प्रदेशमा रहेका २८ वटा निर्वाचन क्षेत्रमा दलहरूले मंगलवार उम्मेदवारी दर्ता गराएका छन्। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि दलहरूले उम्मेदवारी दर्ता गराएका हुन्।

ताप्लेजुङमा नेकपा एमालेको तर्फबाट क्षितिज थेबेले उम्मेदवारी दर्ता गराएका छन्। पार्टीका उपमहासचिव योगश भट्टराईलाई पार्टीले टिकट नदिएपछि थेबेलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। मनोनयन गराउने क्रममा भट्टराईसहितको उपस्थिति थियो।

यसै गरी कांग्रेसले ताप्लेजुङमा गजेन्द्रप्रसाद तुम्याङ (लिम्बू)लाई उम्मेदवार बनाएको छ। नेकपाबाट भने खेलप्रसाद बुडाक्षेत्रीले उम्मेदवारी दर्ता गराएका छन्। श्रम संस्कृति पार्टीबाट सन्तोष राईले उम्मेदवारी दर्ता गर्दा रास्वपाबाट वीरेन्द्र श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्। पाँचथरमा कांग्रेसले नरेन्द्रकुमार केरुङलाई उम्मेदवार बनाउँदा एमालेले भने अइन्द्रसुन्दर नेम्वाङलाई उम्मेदवार बनाएको छ।

इलाम-१ मा नेकपा एमालेबाट काजीमान कागते र इलाम–२ मा सुहाङ नेम्वाङले मनोनयन गरेका छन्। कांग्रेसबाट भने इलाम–१ मा निष्कल राई र इलाम–२ मा भेषराज आचार्यलाई उम्मेदवार बनाएको छ।

पाँच वटा निर्वाचन क्षेत्र रहेको झापाको क्षेत्र नं. १ मा कांग्रेसले केशवराज पाण्डेलाई उम्मेदवार बनाएको छ। यसअघि सो क्षेत्रबाट विश्वप्रकाश शर्माले चुनाव जितेका थिए। एमालेले भने रामचन्द्र उप्रेतीलाई उम्मेदवार बनाएको छ। क्षेत्र नं. १ मा रास्वपाबाट निशा डाँगी उम्मेदवार बनेकी छन्।

क्षेत्र नं. २ मा कांग्रेसले सरिता प्रसाईलाई उम्मेदवार बनाएको छ। एमालेले देवराज घिमिरेलाई उम्मेदवार बनाउँदा रास्वपाले इन्दिरा राना मगरलाई अगाडि सारेको छ। घिमिरे र मगर निवर्तमान सभामुख र उपसभामुख हुन्।

क्षेत्र नं. ३ मा कांग्रेसले राजेन्द्र घिमिरेलाई उम्मेदवार बनाएको छ। सो क्षेत्रमा यसअघि कृष्णप्रसाद सिटौला राप्रपाका राजेन्द्र लिङ्देनसँग पराजित भएका थिए। राप्रपाबाट भने लिङ्देन पुनः मैदानमा होमिएका छन्।

क्षेत्र नं. ४ मा जिल्ला सभापतिसमेत रहेका देउमान थेबेलाई कांग्रेसले उम्मेदवार बनाएको छ। एमालेले भने एलपी साँवालाई उम्मेदवार बनाएको छ।

यसै गरी क्षेत्र नं. ५ मा कांग्रेसले मन्धरा चिमरियालाई उम्मेदवार बनाएको छ। सो क्षेत्रमा नेकपा एमालेका अध्यक्षसमेत रहेको केपी शर्मा ओेलीले उम्मेदवारी दर्ता गराएका छन्। यसै गरी रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले उम्मेदवारी दर्ता गराएका छन्। नेकपाबाट भने रञ्जित तामाङले उम्मेदवारी दर्ता गराए।

कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमध्ये सो क्षेत्रलाई सबैभन्दा धेरै चासोका रूपमा हेरिएको छ।

यता ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङको क्षेत्र नं. १ मा कांग्रेसबाट खड्ग फागोले उम्मेदवारी दर्ता गराए। पार्टी कोशी प्रदेशका सहमहामन्त्रीसमेत रहेका उनी कांग्रेसको विशेष महाधिवेशनमा कोशी प्रदेशबाट नेतृत्वदायी भूमिका गरी महाधिवेशन प्रतिनिधिहरूलाई सहभागी गराएका थिए।

सो क्षेत्रमा एमालेले पार्टी कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई उम्मेदवार बनाएको छ। नेकपाबाट कुलप्रसाद साम्बाले मनोनयन दर्ता गराएका छन् भने रास्वपाबाट यज्ञमणि न्यौपानेले मनोनयन दर्ता गराएका छन्।

क्षेत्र नं. २ मा कांग्रेसले डा. मीनेन्द्र रिजाललाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेबाट दिलिपकुमार अग्रवालले मनोनयन दर्ता गराएका छन्। नेकपाले भने चन्द्रवीर राईलाई उम्मेदवार बनाएको छ भने रास्वपाबाट कृष्णकुमार कार्की मैदानमा होमिएका छन्।

क्षेत्र नं. ३ मा कांग्रेसले डा. सुनील शर्मालाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले इरान राईलाई उम्मेदवारी बनाएको छ। यसै गरी रास्वपाले गणेश कार्कीलाई अगाडि सारेको छ। सो क्षेत्रमा नेकपाले डा. देवमान सम्बाहाम्फेलाई उम्मदवार बनाएको छ।

क्षेत्र नं. ४ मा कांग्रेसबाट गुरुराज घिमिरेले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेका तर्फबाट जीवन घिमिरेले उम्मेदवारी दर्ता गराए। यसै गरी नेकपाबाट अमनलाल मोदीले उम्मेदवारी दर्ता गराएका छन्। अघिल्लो निर्वाचनमा सो क्षेत्रबाट तत्कालीन माओवादी केन्द्रबाट उनै मोदीले चुनाव जितेका थिए।

मोरङ ५ मा कांग्रेसले फूलकुमार लालवानीलाई उम्मेदवार बनाउँदा एमालेले मनोजकुमार अग्रवाललाई उम्मेदवार बनाएको छ। नेकपाले भने शिवकुमार मण्डललाई उम्मेदवार बनाएको छ।

यसै गरी मोरङ ६ मा कांग्रेसका तर्फबाट डा. शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् भने नेकपा एमालेले विनोद ढकाललाई उम्मेदवार बनाएको छ। नेकपाबाट मजदुर नेता ओपेन्द्र रायले उम्मेदवारी दर्ता गर्दा रास्वपाले युवा नेत्री रुविना आचार्यलाई चुनावी मैदानमा उतारेको छ।

सुनसरी क्षेत्र नं. १ मा कांग्रेसले सुजेन्द्र तामाङलाई मैदानमा सारेको छ भने नेकपा एमालेको तर्फबाट टीका माङ्लेनलाई मैदानमा सारेको छ। नेकपाबाट सूर्यबहादुर भट्टराई (मनोज), रास्वपाबाट गोमा तामाङ (सरिन), राप्रपाबाट उद्धव श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्। उक्त निर्वाचन क्षेत्रमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ)ले उम्मेदवारी दर्ता गराएका छन्।

सुनसरी क्षेत्र नं. २ मा कांग्रेसले राजीव कोइरालालाई उम्मेदवार बनाउँदा एमालेले भने युवा नेता सुजन लामालाई मैदानमा सारेको छ। यसअघि एमालेले कोशी प्रदेशसभा सदस्यसमेत रहेका रेवतीरमण भण्डारीलाई उम्मेदवारी बनाउने तयारी गरे पनि उनको नाममा विवाद उत्पन्न भएपछि लामालाई टिकट दिइएको हो।

यसै गरी रास्वपाले भने अघिल्लो चुनावमा पनि उम्मेदवार रहेका लालविक्रम थापालाई चुनावी मैदानमा अगाडि सारेको छ। क्षेत्र नं. २ मा नेकपाबाट रामकुमारी चौधरीले मनोनय दर्ता गर्दा पत्रकारसमेत रहेका इकवाल अहमदले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

सुनसरी क्षेत्र नं. ३ मा कांग्रेसले पुनः विजयकुमार गच्छदारलाई मैदानमा सारेको छ। उनी ०४८ सालयता निरन्तर चुनावी मैदानमा होमिएका छन्। यसअघि कांग्रेसबाट दुहबी नगरपालिकाका मेयरसमेत रहेका वेदनारायण गच्छदारलाई टिकट दिएको थियो। तर, अन्तिम समयमा भने विजयले उम्मेदवारी दर्ता गराएका हुन्।

नेकपा एमालेले भने सो क्षेत्रमा भगवती चौधरीलाई उम्मेदवार बनाएको छ। रास्वपाबाट अशोककुमार चौधरीले मनोनयन दर्ता गराएका छन्। नेकपाबाट दुर्गेश चौधरीले मनोनयन दर्ता गराए।

क्षेत्र नं. ४ मा कांग्रेसले पुनः ज्ञानेन्द्रबहादुर कार्कीलाई चुनावी मैदानमा अगाडि सारेको छ। उनी यसअघि दुईपटक सो क्षेत्रबाट निर्वाचित भएका थिए। एमालेले भने जगदीश कुशियैतलाई चुनावी मैदानमा सारेको छ। यसअघि कांग्रेस छाडेर एमालेमा प्रवेश गरेका डा. अब्दुल हुसैनलाई टिकट दिइए पनि चौतर्फी विरोध भएपछि कुशियैतलाई टिकट दिइएको हो। यसै गरी नेकपाले भने महमद महफुज अन्सारीलाई मैदानमा सारेको छ।

धनकुटामा कांग्रेसले जिल्ला सभापति दिनेश राईलाई टिकट दिँदा एमालेले पुनः राजेन्द्रकुमार राईलाई मैदानमा सारेको छ। श्रम संस्कृति पार्टीले सानबहादुर राईलाई उम्मेदवार बनाउँदा नेकपाले धर्मराज पौडेल र रास्वपाबाट दिनेश भण्डारीलाई चुनावी मैदानमा सारेको छ।

तेह्रथुममा कांग्रेसले सन्तोष राईलाई टिकट दिँदा एमालेले भने भानुभक्त ढकाललाई अगाडि सारेको छ। ढकाल यसअघि मोरङ क्षेत्र नं. ३ मा कांग्रेसका डा. सुनील शर्मासँग पराजित भएका थिए। उनी मोरङबाट तेह्रथुममा गएर प्रतिस्पर्धा गरेका हुन्। तेह्रथुममा नेकपाबाट रणध्वज कन्दङवाले मनोनयन दर्ता गराउँदा रास्वपाबाट सुरेन्द्र कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।

संखुवासभामा कांग्रेसले दिपन श्रेष्ठलाई उम्मेदवार बनाउँदा एमालेले डा. अर्जुन कार्कीलाई उम्मेदवार बनाएको छ। यसअघि संखुवासभामा कांग्रेसका दीपक खड्काले जितेका थिए।

भोजपुरमा कांग्रेसले पुराना नेता बालकृष्ण थापालाई उम्मेदवार बनाएको छ भने एमालेले शेरधन राईलाई चुनावी मैदानमा अगाडि सारेको छ। सो क्षेत्रमा श्रम संस्कृति पार्टीको तर्फबाट ध्रुवराज राई चुनावी मैदानमा होमिएका छन्। नेकपाबाट अजम्बर राई काङमाङ चुनावी मैदानमा होमिएका छन्।

सोलुखुम्बुमा कांग्रेसले प्रकाशसिंह कार्कीलाई उम्मेदवार बनाउँदा एमालेले कल्पना राईलाई मैदानमा सारेको छ।

ओखलढुंगामा कांग्रेसले कुमार लुइँटेललाई उम्मेदवार बनाएको छ। यसअघि रामहरि खतिवडालाई टिकट दिए पनि पछिल्लो पटक लुइँटेललाई टिकट दिएको हो। एमालेले भने अस्मिता थापालाई चुनावी मैदानमा अगाडि सारेको छ। नेकपाबाट ओखलढुंगामा अम्बिरबाबु गुरुङ चुनावी मैदानमा होमिएका छन्।

खोटाङमा नेपाली कांग्रेसबाट वीरकाजी राई, नेकपा एमालेबाट देवविक्रम राई, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट डा. हरि रोका र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट रुद्र गिरीले मनोनयन दर्ता गराएका छन्। यसअघि एमालेबाट पटकपटक विशाल भट्टराई उम्मेदवार रहँदै आएका थिए भने यसपटक एमालेले देवविक्रमलाई टिकट दिएको हो।

उदयपुरको क्षेत्र नं. १ मा कांग्रेसले विदुर बस्नेतलाई उम्मेदवार बनाएको छ भने क्षेत्र नं. २ मा रामकुमार राईलाई उम्मेदवार बनाएको छ। एमालेले भने क्षेत्र नं. १ मा दुर्गाकुमार थापा (स्वस्तिक)लाई उम्मेदवार बनाउँदा क्षेत्र नं. २ मा अमर रायमाझीले मनोनयन दर्ता गरेका छन्। उदयपुर २ मा रास्वपाबाट सूर्यबहादुर तामाङले उम्मेदवारी दर्ता गरेका छन्।

रास्वपाले क्षेत्र नं. १ मा पारसमणि गेलाललाई उम्मेदवार बनाएको छ। नेकपाबाट क्षेत्र नं. १ मा बलदेव चौधरी चुनावी मैदानमा होमिँदा क्षेत्र नं. २ मा सुरेश कुमार राई मैदानमा होमिएका छन्।

प्रकाशित: ६ माघ २०८२ २०:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast