सभापतिलाई मधेशमा उभ्याएर देश निर्माणको सुरुवात गर्न चाहेका छौँ : पौडेल

हिमाल प्रेस ९ माघ २०८२ १५:०४ | Friday, January 23, 2026
10
SHARES
सभापतिलाई मधेशमा उभ्याएर देश निर्माणको सुरुवात गर्न चाहेका छौँ : पौडेल फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले उठाएका मुद्दाहरुका आधारमा निर्वाचनमा प्रतिष्पर्धा हुने बताएका छन्।

शुक्रबार पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री पौडेलले प्रतिपष्र्धा व्यक्तिले नभइ व्यक्तिले उठाएको मुद्दाले गर्ने भएकाले आफूहरुले उठाएका मुद्दाहरुलाई घोषणापत्रले स्पष्ट पार्ने बताएका हुन्।

यसपटकको निर्वाचनमा आवधिक निर्वाचनभन्दा अघि पार्टीबाट प्रधानमन्त्रीको घोषणा गर्ने अभ्यासलाई पार्टीभित्र विकसित गर्न खोजेको उनले बताए।

पौडेलले कांग्रेसको नेतृत्वमा देश बनाउने गरी आफ्ना मुद्दाहरुलाई स्थापित गर्ने दाबी गरे। त्यसैगरी उनले पार्टी सभापतिलाई मधेशमा उभ्याएर देश विकासको सुरुवात गर्न चाहेको धारणा राखे। ‘देशको जग मधेश हो, हामी हाम्रो सभापतिलाई मधेशमा उभ्याएर देश निर्माण गर्न चाहन्छौँ,’ पौडेलले भने,‘मधेशको जगबाट नेपालको निर्माण गर्न चाहन्छौँ।’

आफूहरूका सभापति मधेशका मतदाताबाट निर्वाचित भएर आइसकेपछि देश जोडिनुका साथै नयाँ संकल्पका साथ अगाडि बढ्ने उनले विश्वास व्यक्त गरे।

पौडेलले सबै नेपालीको भावना प्रतिनिधित्व गर्न कांग्रेसले आफ्नो सभापतिलाई सर्लाही–४ बाट उम्मेदवार प्रस्ताव गरेको बताए। उनले कांग्रेसको यो निर्णयलाई देशलाई एकीकृत गर्न मद्त गर्ने जिकिर गरे।

‘हामीले पार्टी सभापतिलाई सर्लाही–४ बाट उम्मेदवार प्रस्ताव गरेका छौँ, त्यसले मलाई लाग्छ देशलाई एकीकृत गर्न मद्त गर्नेछ, नयाँ भावनाको सिर्जना गर्नेछ, मधेशको महत्वलाई अझ बढी स्थापित गर्नेछ, मधेशका मुद्दाहरूलाई अझ प्रस्ट पार्नेछ, मधेशका मुद्दाहरूबारे अझ बढी ध्यानाकृष्ट हुनेछ,’ पौडेलले भने।

उनले पार्टी सभापति मधेशबाट निर्वाचित भएर आएपछि देश नयाँ संकल्पका साथ जोडिने बताए।

प्रकाशित: ९ माघ २०८२ १५:०४ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast