म्याग्दीको रुम-ताराखोला सडक स्तरोन्नति सुरु

हिमाल प्रेस ५ माघ २०८२ १३:५१ | Monday, January 19, 2026
8
SHARES
म्याग्दीको रुम-ताराखोला सडक स्तरोन्नति सुरु

म्याग्दी- मालिका गाउँपालिका-२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति सुरु भएको छ। पूर्वाधार विकास कार्यालय, म्याग्दीले रुमदेखि ताराखोलातर्फ सडक स्तरोन्नतिको काम थालेको हो।

२०८२ असार ४ गते रु दुई करोड ११ लाख ३० हजारमा ठेक्का सम्झौता गरेको सोमरस निर्माण सेवाले सडक फराकिलो पार्ने, नाली र पर्खाल निर्माणको काम थालेको कार्यालयले जनाएको छ।

कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर डा.महेन्द्र बानियाका अनुसार योजनाको हालसम्म १० प्रतिशत भौतिक प्रगति भएको छ। ठेक्काको अवधी १८ महिनाको रहेको छ।

आयोजना मार्फत रुम खण्डमा करिब एक किलोमिटर सडक फराकिलो पार्ने, नाली, टेवा पर्खाल निर्माण, ढलान र कालोपत्र गरिने भएको छ। रुम म्याग्दीको धेरै जनसंख्या भएको वडा हो।

म्याग्दीको मालिका, धवलागिरि र मंगला गाउँपालिकाका बासिन्दालाई बाग्लुङको ताराखोला र मध्यपहाडी लोकमार्गले छोएको गलकोट हुँदै लुम्बिनी प्रदेशको बुटवल बजार जानआउन नजिक पर्ने भएकाले यो सडकलाई प्राथमिकता दिएको गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जाली (सुविन) ले बताए।

उनका अनुसार गलकोटदेखि ताराखोलाको घुस्मेलीसम्म १० किलोमिटर सडक कालोपत्रको अन्तिम चरणमा रहेको, घुस्मेलीदेखि करिमेला खण्डको चार किलोमिटर स्तरोन्नति र ताराखोलाको रानीबासामा मोटरेबल पुल निर्माण सुरु भएको छ।

यसैगरी मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि अदिभारा-ताक्से-बिलबाङ हुँदै रुम जोड्ने सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको मालिका गाउँपालिका-२ का वडाअध्यक्ष उदयकुमार बुढाथोकीले बताए।

११ वर्षअघि स्थानीयवासीले चन्दा संकलन र तत्कालीन गाविस कार्यालयको बजेटबाट खनेको सडक प्राविधिक रुपमा उपयुक्त नभएको र जोखिमयुक्त भएपछि स्तरोन्नतिका लागि आयोजना सञ्चालन भएको हो। टाक्से क्षेत्रमा नयाँ मार्ग बनाउने काम भइरहेको छ।

अदिभारा-स्याउलीबाङ-औला-बेली-जेम हुँदै रुम जोड्ने घुमाउरो सडकमा यात्रा गर्दा एक घण्टा लाग्ने गरेकामा अदिभारा-टाक्से हुँदै २० मिनेटमा नै रुम पुग्न सकिने वडाअध्यक्ष बुढाथोकीले बताए।

प्रकाशित: ५ माघ २०८२ १३:५१ | Monday, January 19, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast