लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक : बालेन शाह

हिमाल प्रेस २ माघ २०८२ ११:२३ | Friday, January 16, 2026
8
SHARES
लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक : बालेन शाह

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका प्रमुख तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक भएको बताएका छन्।

२७औँ भूकम्प सुरक्षा दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले राष्ट्र निर्माणको नयाँ यात्रामा अघि बढ्ने उद्घोष गरेका हुन्।

आगामी फागुन २१ गते झापा क्षेत्र नं. ५ बाट नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उपनिर्वाचन लड्ने तयारीमा रहेका शाहले आफ्नो इन्जिनियरिङ पृष्ठभूमि र अनुभवलाई राजनीतिसँग जोड्दै देश बदल्ने संकल्प व्यक्त गरेका छन्।

शाहले २०७२ सालको विनाशकारी भूकम्पपछि सिभिल इन्जिनियरका रूपमा काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरेको स्मरण गर्दै गोरखा सहित ३५ भन्दा बढी जिल्लामा काम गरेको अनुभवले धेरै कुरा सिकाएको बताए।

‘नेपालजस्तो भूकम्पीय जोखिम भएको देशमा केवल सिभिल इन्जिनियरिङ पर्याप्त हुँदैन,’ उनले भनेका छन्, ‘भौगोलिक भूबनोटसँगै हाम्रो विविध समाजलाई माथि उठाउन अनेक पाटोलाई सँगै लैजानुपर्छ।’

शाहले भारत गएर ‘स्ट्रक्चरल इन्जिनियरिङ’ अध्ययन गरे पनि अवसर त्यागेर देश फर्किएको उल्लेख गर्दै काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हाल्दा शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गरे। उनले महानगरमा सुरु भएका सुधार र पारदर्शी प्रणालीलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको पनि बताए।

उनले आफ्नो आगामी राजनीतिक उद्देश्य स्पष्ट पार्दै भनेका छन्, ‘हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउने हो।’

शाहले देशलाई अल्पकालीन निर्णय र लोकप्रिय नाराभन्दा जनताको विश्वास जित्ने शासन र इमानदार नेतृत्व आवश्यक रहेको बताए।

झापा-५ बाटको निर्वाचन लड्ने तयारीलाई बल दिँदै उनले भने, ‘अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको छ। यो अभियान केवल एक व्यक्तिको होइन, सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियान हो।’

प्रकाशित: २ माघ २०८२ ११:२३ | Friday, January 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast