पाेखरामा टाइगर कप भलिबल

हिमाल प्रेस ९ माघ २०८२ १५:१० | Friday, January 23, 2026
14
SHARES
पाेखरामा टाइगर कप भलिबल

पोखरा- टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा छैटौं संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप शुक्रबारदेखि पोखरा रंगशालामा सुरु भएको छ। गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले पाेखरा रंगशालास्थित भलिबल काेर्टमा आयाेजित समाराेहमा प्रतियोगिताकाे उद्घाटन गरे।

उद्घाटन अवसरमा न्यू डायमण्डका प्रशिक्षक कुमार राईलाई भलिबल खेलकाे विकासमा पुर्‍याएकाे याेगदानकाे कदर गर्दै सम्मान गरियाे। यस्तै, भलिबलका पूर्व राष्ट्रिय खेलाडी राजकुमार अधिकारी र २२ ओै पल्सर स्पाेर्टस् अवार्डमा पिपल्स अवार्ड जितेका भलिबल खेलाडी हिमाल सुनारीलाई सम्मान गरियाे।

प्रतियोगितामा पुरुषतर्फ ६ र महिलातर्फ ५ टिमले भाग लिएका छन्। पुरुषतर्फ विदेशी टिम माल्दिभ्स भलिबल एशोसिएसनसहित नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश र पर्वत जिल्ला भलिबल संघ छन्।

महिलातर्फ विदेशी थाइल्याण्ड क्वीन्ससहित नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब र न्यू डायमण्ड युथ स्पोर्टस् ले भाग लिएका छन्।

शुक्रबारकाे पहिलो खेल महिलातर्फ न्यू डायमण्डले जितेकाे छ। त्रिभुवन आर्मी क्लबलाई साेझाे सेटमा हराएको हाे। यस‌ै गरी दोस्रो खेल पुरुषतर्फ त्रिभुवन आर्मीले जितेकाे छ। माल्दिभ्स भलिबललाई साेझाे सेटमै पराजित गरेकाे छ।

उद्घाटन खेल भने घरेलु गण्डकी प्रदेश र एपीएफबीच सुरु भएकाे छ। पुरुष र महिला दुवैतर्फ विजेताले ६ लाख ६६ हजार ६६६ रुपैयाँ र उपविजेताले ३ लाख ६६ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन्। तेस्रोलाई १ लाख ६६ हजार ६६६ रुपैयाँ प्रदान गरिनेछ।

सर्वोत्कृष्ट खेलाडीले २६ हजार ६६६ र विधागततर्फ उत्कृष्ट हुने खेलाडीले ११ हजार ६६६ रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिता यही १७ माघसम्म चल्ने आयाेजक संस्थामा अध्यक्ष नारायणप्रसाद शर्माले जानकारी दिए।

प्रकाशित: ९ माघ २०८२ १५:१० | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast