चुनाव लड्न जसले दिए राजीनामा

हिमाल प्रेस ५ माघ २०८२ १५:४७
16
SHARES
चुनाव लड्न जसले दिए राजीनामा

काठमाडौँ- आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार हुनका लागि विभिन्न प्रदेश तथा केन्द्रका सांसद र मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन्।

रुपन्देही-४ बाट आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने घोषणा गर्दै लुम्बिनी प्रदेशसभा सदस्य कन्हैया बनियाँले आज प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्।

२०७९ सालको निर्वाचनमा तत्कालीन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालबाट निर्वाचित बनियाँले सभामुख तुलाराम घर्तीसमक्ष राजीनामा बुझाएका हुन्। उनले भने,‘पदमा हुँदा लुम्बिनी प्रदेश र सम्पूर्ण मर्चवारवासीको हितमा इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको छु।’

बागमती प्रदेशसभा सदस्य युवराज दुलालले (शरद) प्रतिनिधिसभा सदस्य पदका लागि सिन्धुपाल्चौक-२ बाट प्रत्यक्षतर्फ टिकट पाउने भएपछि प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। दुलालले प्रदेशसभा सचिवालयमा राजीनामा बुझाएर आफ्नो निर्वाचन क्षेत्र फर्किएको र भोलि उम्मेदवारी दर्ता गराउने बताए।

डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभामा निर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य डा.तारा जोशीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रतिनिधिसभा उम्मेदवार बन्ने भएपछि इमेलमार्फत राजीनामा दिएका छन्। डा.जोशी पछिल्लो समय उज्यालो नेपाल पार्टीसँगको एकता टुटे पनि रास्वपामै रहेका थिए।

पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्। उनले जनकपुरधामस्थित प्रदेशसभा कार्यालयमा सभामुख रामआशिष यादवसमक्ष राजीनामा बुझाएका छन्। सिंहले सप्तरी-२ (क) बाट निर्वाचित भएको जनमत पार्टीबाट प्रतिनिधिसभा उम्मेदवारी दिने बताएका छन्।

त्यस्तै, केन्द्रमा युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पनि आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारी दिने भएपछि मन्त्री पदबाट राजीनामा दिएका छन्।

गुप्ताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा इमेलमार्फत राजीनामा पठाइसकेको र टेलिफोनमार्फत प्रधानमन्त्रीलाई जानकारी गराइसकेको बताए।

उनी जेनजी आन्दोलनपछि गठन भएको वर्तमान सरकारमा युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए।

यसैगरी, प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिने तयारीका क्रममा विभिन्न प्रदेश तथा केन्द्रका नेता र मन्त्रीहरूले पदबाट राजीनामा दिँदै निर्वाचन प्रक्रियामा आफ्नो सहभागिता सुनिश्चित गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast