कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापा।
काठमाडौँ- नेपाली कांग्रेस विशेष महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीको नेतृत्वमा तयार भएको कार्यक्रम अनुसार आज बिहान १२:३० बजे प्रथम मतदाता नामावली प्रकाशन गरिनेछ। त्यसपछि मतदाता नामावलीमाथि दाबी विरोध र छानबिनको प्रक्रिया १२:३० देखि १:३० बजेसम्म हुनेछ।
अन्तिम मतदाता नामावली प्रकाशन २:०० बजे हुने छ भने सोही समयमा उम्मेदवारको मनोनयन पत्र दर्ता सुरु भई ३:०० बजे सम्म सम्पन्न हुनेछ। उम्मेदवारको नामावली नेपाली वर्णानुक्रम अनुसार ४:३० बजे प्रकाशित गरिनेछ र सोमाथि दाबी विरोध ५:०० बजेसम्मका लागि खुला रहनेछ।
दाबी विरोधको छानबिन ५:३० बजेसम्म सम्पन्न गरी मनोनयन दर्ता फिर्ता प्रक्रिया ७:३० बजेसम्म पूरा गरिने कार्यक्रम रहेको छ। उम्मेदवारको अन्तिम नामावली ८:४५ बजे प्रकाशित गरिनेछ भने मतदान ९:०० बजे निर्धारित मतदान केन्द्रहरूमा सुरु हुनेछ।
निर्वाचन समितिले आवश्यक परेमा कार्यक्रममा संशोधन गर्न सक्ने जनाएको छ। संयोजक केसीले निर्वाचन पारदर्शी, निष्पक्ष हुने प्रतिबद्धता व्यक्त गरेका छन्।





