पोखरा- पोखरा पर्यटकीय राजधानी घोषित सुन्दर नगरको रूपमा देशविदेशभर चर्चित छ। तर पोखरामा फोहोरमैला व्यवस्थापन भने वर्षौँदेखि पेचिलो बन्दै गएको छ।
पोखरा-१४, बाच्छेबुडुवामा विगतमा सञ्चालित ल्याण्डफिल साइट ३ वर्षअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएकै दिनदेखि बाध्यतावश बन्द गरिएको थियो। विमान उडानमा फोहोरमैलाका कारण चरा आतंक बढ्ने भन्दै त्यहाँबाट सारेर ६ महिना समय दिई पोखरा-३२, लामेआहाल सारिएको थियो। तर यतिका समय बितिसक्दासमेत महानगरले विकल्प दिन सकेको छैन। अत्याधुनिक फोहोरमैला प्रशोधन केन्द्र छिट्टै निर्माण हुने भनी लामेआहालको ल्याण्डफिल साइट आसपासका स्थानीयलाई आश्वस्त पार्दै आएको छ।
फोहोरमैला व्यवस्थापनको दीर्घकालीन समाधानमा आवश्यक जग्गा खोज्न यसअघि पोखरा महानगरले विभिन्न वडासमेत चहारेको थियो। पोखरा-१६ स्थित पसराम, वडा–१३ स्थित ढाँडवेँसी, वडा २२ स्थित पुम्दीभुम्दी, वडा–२१ र स्याङ्जाको सीमाना क्षेत्र, वडा–३३ को टिउरपाटोसम्म महानगर पुगेको थियो। तर जहाँ पुगे पनि स्थानीयको विरोधले पछि हट्दै आएको छ।
पछिल्लो समय पोखरा-३३, झाक्रीखोलामा अत्याधुनिक फोहोर प्रशोधन केन्द्र निर्माण प्रक्रिया प्रारम्भिक प्रक्रिया सुरु गरिएको थियो। त्यसका लागि महानगरले एक कम्पनीसँग सम्झौतासमेत गरिसकेको जनाएको छ।
यस विषयमा स्थानीय आक्रोशित छन्। उनीहरूले आफूहरूको सहमतिबिना वडामा फोहोरमैला ल्याउन नपाइने भन्दै सोमबार दिनभरजसो पोखरा उपत्यका नगर विकास समिति अगाडि नाराबाजी गर्दै विरोध प्रदर्शन गरे। गत साता पनि वडा कार्यालयमा विरोध प्रदर्शन गर्दै कार्यालयमा तालाबन्दीसमेत गरेका थिए। वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी नै नचाएको आरोपमा एक दिन प्रहरी हिरासतसम्म पुगे।
सोमबार सहिदचोकस्थित पोखरा उपत्यका नगर विकास केन्द्र अघि आन्दोलनमा सहभागी स्थानीय श्रीधर पौडेल भन्छन्, ‘हामी कुनै पनि हालतमा पोखराभरिको फोहोर आफ्नो वडामा लैजान दिने छैनौं। स्वच्छ हावापानीमा रहन बस्न चाहन्छौं।’

यता, स्थानीयको अवरोधले प्रशोधन केन्द्रका लागि जग्गा प्राप्ति सहज नहुने देखेपछि मेयर धनराज आचार्यले वडावासीलाई सोमबार वार्ताका लागि बोलाएका थिए। तर उनीहरूको निरन्तर विरोध प्रदर्शनले साँझ अबेरसम्म वार्ता अघि बढ्न सकेको छैन।
पोखरा महानगरले यसलाई ल्याण्डफिल साइट नभई पछिल्लो प्रविधिमा आधारित अत्याधुनिक फोहोर प्रशोधन केन्द्र बन्ने भएकाले सर्वसाधारण बुझेजस्तो ल्याण्डफिल साइट नभएको दाबी गरेको छ। कतिपय विषयमा बजारमा अनेकखालका हल्ला पिटिएको र कुनै पनि हालतमा बन्न नदिने भनी विरोध चलिरहँदा यो परियोजना फरकखालको भएको र यसले दीर्घकालीन समयसम्म सिंगो पोखरेलीको हितमा हुने जिकिर छ।
गत २ मंसिरमा परियोजना सञ्चालन गर्न टेरासोल्भ रिनुयवल नेपाल प्रालिसँग पोखरा महानगरले परियोजना निर्माणबारे सम्झौता गरिसकेको मेयर आचार्य बताउँछन्। उनका अनुसार ८० करोड लगानीमा २१ वर्षका लागि उक्त आयोजना जिम्मा दिइएको हो। सो परियोजनाको अवधि अध्ययन तथा निर्माण अवधिबाहेक व्यवसाय सञ्चालनको २१ वर्षमा चालु परियोजना जग्गासहित महानगरलाई हस्तान्तरण गरिने उल्लेख छ।
आचार्यले यो परियोजना ल्याण्डफिल साइट नभई अत्याधुनिक फोहोर प्रशोधन केन्द्र भएको जिकिर गर्छन्। उनी भन्छन्, ‘यो ल्याण्डफिल होइन, फोहोर लगेर बाच्छुबुडुवामा फालेजस्तो होइन। अत्याधुनिक फोहोर प्रशोधन केन्द्र हो।’ उनले यो सबैको साझा विषय भएकोले स्थानीयसँग समझदारी र छलफल गरेरै अघि बढ्ने बताए।
पीपीपी परियोजनाका फोकलपर्सन इन्जिनियर नेत्र तिमिल्सिना जर्मनी प्रविधिमा आधारित यो प्लान्टले टीएचजी ग्यास र कम्पोस्ट मल उत्पादन गर्ने बताए। उनका अनुसार कत्ति पनि फोहोर खेर नफाल्ने गरी ‘जिरो वेस्ट’मा काम गर्ने प्लान्ट हो। भोलिका दिनमा यहाँबाट उत्पादित उक्त ग्यासबाट गाडीसमेत सञ्चालन गर्न सकिनेछ।
नेपालमा धरानमा मात्र यस्तै तर सानो आकारमा प्रशोधन केन्द्र पहिले नै सञ्चालित छ। त्यहाँका अटोहरू त्यही उत्पादित ग्यासबाट चल्ने गरेको पाइन्छ। पोखरामा बन्ने परियोजना इनडोर (डोम) भित्र रहने भएकाले वातावरणीय प्रदूषण हुन नदिन निकै सतर्कता अपनाइने दाबी छ। यदि परियोजना सञ्चालनमा आए कम्तीमा सय जनाले प्रत्यक्ष रोजगारी पाउने महानगरले जनाएको छ।
कम्पनीसँगको सम्झौतामा २४-२५ महिना लेखिएको भए तापनि अबको १२-१३ महिनामा कम्पनीले उत्पादनै सुरु गर्ने मेयर आचार्यले बताए। २१ वर्षमा परियोजना हस्तान्तरण गर्ने गरी कम्पनीलाई नै जग्गा खरिदको जिम्मा दिइएको उनले स्पष्ट पारे।
पोखरामा दैनिक २५० टन फोहोर संकलन हुने गरेको पाइन्छ। उत्पादित फोहोर प्लान्ट सञ्चालनमा समेत कम हुने अनुमान छ। तसर्थ पोखराको फोहोरले प्लान्ट संचालनमा अपुग भए भविष्यमा छिमेकी पालिका फेदीखोला र शुक्लागण्डकीको फोहोरसमेत भविष्यमा संकलन गरिने लक्ष्य छ।




