नयाँ राजनीतिक चरित्रको खोजी

वीरेन्द्र सिंह ११ माघ २०८२ ११:३५
64
SHARES
नयाँ राजनीतिक चरित्रको खोजी

नेपाल निर्वाचनको निर्णायक मोडमा उभिएको छ। तर यो निर्वाचन सरकार गठनको औपचारिक प्रक्रियामा सीमित छैन। यो विगतका राजनीतिक अभ्यासमाथि जनताले दिएको सामूहिक मूल्यांकन हो। दशकौँदेखि दोहोरिँदै आएको राजनीतिक अस्थिरता, शक्ति केन्द्रित सत्ता सञ्चालन, गठबन्धनको सौदाबाजी र उत्तरदायित्वहीन शासनशैलीप्रति सञ्चित जनआक्रोश अब मतपत्रमार्फत विवेक र चेतनाका रूपमा प्रकट हुनेछ।

यस अर्थमा आजको निर्वाचन सत्ता चयनको अभ्यास मात्र होइन, राजनीतिक चरित्रको जनअदालत हो। मतपत्रभित्र बन्द भएको जनभावना जब निर्णय बनेर बाहिर निस्कन्छ त्यसको प्रभाव कुनै एक दलको जित वा हारमा सीमित रहँदैन। त्यो सम्पूर्ण राजनीतिक प्रणालीमाथिको फैसला बन्छ। नेपाली राजनीति आज त्यही ऐतिहासिक मोडमा पुगेको छ।

यही चुनावी परिवेशमा वैकल्पिक राजनीतिक शक्तिहरूको उदय आकस्मिक घटना होइन। यो परम्परागत दलहरूले गुमाउँदै गएको नैतिक वैधतामाथिको स्वाभाविक जनप्रतिक्रिया हो। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदय केवल पुराना शक्तिहरूको चुनावी पराजय होइन, उनीहरूको राजनीतिक संस्कार, शासनशैली र उत्तरदायित्वप्रतिको गम्भीर जनआलोचनाको अभिव्यक्ति पनि हो।

तर वैकल्पिक राजनीतिलाई बुझ्न त्यसको वैचारिक पृष्ठभूमि स्मरण गर्नु अपरिहार्य छ। यही सन्दर्भमा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईको राजनीतिक भूमिका पुनः बहसको केन्द्रमा आउँछ। उनी एक पूर्वप्रधानमन्त्री वा दलका नेता मात्र होइनन् संघीय गणतन्त्र, धर्मनिरपेक्षता र संविधान निर्माणजस्ता ऐतिहासिक परिवर्तनको वैचारिक यात्रामा निर्णायक प्रभाव राख्ने नेता हुन्।

संविधानसभाबाट जारी भएको संविधानलाई उनले ‘आधा गिलास पानी’ को संज्ञा दिनु आत्मालोचना थियो। संरचना बदलिए पनि राज्यको चरित्र नबदलिएको यथार्थको स्वीकारोक्ति उनले गरे। यही निष्कर्षबाट वैकल्पिक राजनीतिक शक्तिको अवधारणा जन्मिएको हो। नयाँ राजनीतिक संस्कार, नैतिक नेतृत्व र पुस्तान्तरणमार्फत राज्य सञ्चालनको शैली बदल्ने उद्देश्यसहित ‘नयाँ शक्ति’ को बीजारोपण गरिएको थियो।

आज विभिन्न नाम, झन्डा र संरचनामा उदाएका वैकल्पिक दलहरू मूलतः यही वैचारिक धरातलको विस्तार हुन्। रास्वपाको लोकप्रियता पनि यही राजनीतिक चेतनाको निरन्तरता हो। नेतृत्व फरक हुन सक्छ, तर प्रश्न उही हो पुरानो राजनीतिबाट मुक्ति र नयाँ राज्य संस्कारको खोज। यस अर्थमा वैकल्पिक राजनीतिमा देखिएको जागरणको ऐतिहासिक श्रेय डा.भट्टराईको वैचारिकीसँग गाँसिन पुग्छ।

यही निर्वाचनका क्रममा घटेका पछिल्ला घटनाले पनि गहिरो राजनीतिक सन्देश बोकेका छन्। डा. भट्टराई आफ्नै दल प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखामा उम्मेदवारी मनोनयन दर्ता गर्न पुगे। तर पछि रास्वपाका नेताहरूको आग्रह र समग्र वैकल्पिक राजनीतिक धारलाई क्षति नपुगोस् भन्ने चिन्तालाई मनन गर्दै उनले उम्मेदवारी फिर्ता लिए।

यो कदम सामान्य चुनावी रणनीति होइन। यो व्यक्तिगत महत्त्वाकांक्षा माथि उठेर राजनीतिक उद्देश्यलाई प्राथमिकता दिने दुर्लभ उदाहरण हो। सत्ताको प्रतिस्पर्धाभन्दा वैकल्पिक राजनीतिक धार सुरक्षित रहोस् भन्ने सोचबाट आएको यो निर्णय आजको नेपाली राजनीतिमा विरलै देखिने राजनीतिक परिपक्वताको संकेत हो।

तर यहीँ एक गहिरो विरोधाभास देखिन्छ। वैकल्पिक साना दलहरूको उदय भइरहँदा पनि उनीहरूले डा. भट्टराईजस्तो वैचारिक मार्गनिर्देशकलाई औपचारिक रूपमा समेट्न सकेका छैनन्। विचार जन्माउने व्यक्तित्व बाहिर र विचारबाट जन्मिएका शक्तिहरू केन्द्रमा देखिनु आजको संक्रमणकालीन राजनीतिले बोकेको गम्भीर विडम्बना हो।

यही विडम्बनाले भविष्यप्रति चेतावनी पनि दिन्छ। वैकल्पिक शक्तिहरूको बहुलता सकारात्मक भए पनि साझा दृष्टि, सैद्धान्तिक स्पष्टता र दीर्घकालीन वैचारिक नेतृत्वको अभावले ती शक्तिहरू छरपस्ट हुने जोखिम बढ्दो छ। व्यक्तिवादी प्रवृत्ति र क्षणिक लोकप्रियतामा आधारित राजनीति स्वयं पुरानै रोगतर्फ फर्किने खतरा बोकेको हुन्छ।

रास्वपाले ८५ भन्दा बढी सिट प्राप्त गरी पहिलो दलको हैसियत बनाउँछ भने संविधानले उसलाई सरकार गठनको पहिलो अवसर दिन्छ। तर त्यो अवसर सत्ता उपभोगको होइन इतिहाससँग गरिएको सम्झौताका रूपमा मूल्यांकन हुनेछ। प्रश्न प्रधानमन्त्री को बन्छ भन्ने होइन के राजनीति अब इमान, पारदर्शिता र संस्थागत उत्तरदायित्वमा फर्कन सक्छ? भन्ने हो।

सरकार गठबन्धनबाट बन्न सक्छ तर नेतृत्वको नैतिक वैधता जनमतबाट निर्देशित हुनेछ। रास्वपाले बहुमत नपुर्‍याए पनि उसले राजनीतिक नैतिकताको केन्द्र ओगट्ने सम्भावना प्रबल छ। यही कारण भविष्यको सरकार अंकगणितले होइन जनअपेक्षाले निर्देशित हुनेछ।

सबैभन्दा ठूलो जोखिम स्वयं नयाँ दलहरूकै लागि छ। यी दलले सत्तालोभ, बन्द कोठाको राजनीति र असंवेदनशील व्यवहार दोहोर्‍याए भने जनमत फेरि कठोर हुनेछ। लोकतन्त्रमा विकल्प जन्मिनु उपलब्धि हो तर विकल्प टिक्नु चरित्रमा निर्भर हुन्छ। राजनीतिक परिवर्तन आवेगले होइन विचारले टिक्छ। त्यसैले आजको निर्वाचन  परिणामको प्रतीक्षा होइन, भोलिको राजनीतिक चरित्र निर्माणको परीक्षा हो।

(ब्यांगलोर, भारत)

प्रकाशित: ११ माघ २०८२ ११:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast