कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली। फाइल तस्बिर
काठमाडौँ- यतिबेला नेपाली कांग्रेसको विशेष महाधिवेशनले राजनीतिक वृत्तमा तरंग पैदा भएको छ। पार्टी सभापति शेरबहादुर देउवाको ‘असहयोग’ का बीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अगुवाइ गरेको विशेष महाधिवेशनमा उपस्थित कांग्रेस प्रतिनिधिको संख्या र नेताहरूबाट व्यक्त प्रतिबद्धतापछि पार्टीभित्र मात्र होइन बाहिरबाट पनि उनीहरूको प्रशंसा भइरहेको छ।
पार्टी सभापति देउवापक्षीय नेताहरूले विशेष महाधिवेशनले कांग्रेस फुट्ने भय देखाउँदादेखाउँदै गगन-विश्वले विशेष महाधिवेशनलाई निष्कर्षमा पुर्याउन लागेका छन्। विशेष महाधिवेशनको परिणामस्वरूप कांग्रेसमा ‘कोर्स करेक्सन हुन सक्ने’, ‘पुस्तान्तरण हुन सक्ने’ वा ‘नेतृत्व जाम हट्ने’ आकलन भइरहेका छन्।
गगन–विश्वको हिम्मतकै कारण वयोवृद्ध सभापति देउवा राजनीतिको किनारामा धकेलिएका छन्। देउवा किनारामा धकेलिँदै गर्दा उनका सहयात्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भने पार्टीको शीर्ष तहमा तेस्रोपटक पुगेका छन्।
मंसिरमा सम्पन्न पार्टीको ११ औँ महाधिवेशनमा ओली तेस्रो पटक अध्यक्षमा चुनिएका हुन्। प्रतिस्पर्धी ईश्वर पोखरेललाई एक हजारभन्दा बढी मतान्तरले हराएर ओली अध्यक्ष चुनिए। एमालेभित्र पनि ओली अध्यक्षबाट हट्नुपर्ने वा फेरि पदमा जान नहुने आवाज उठेका थिए। तर ओलीले ती सबै आवाजलाई बन्द गरिदिए।
जेनजी आन्दोलनका बेला कांग्रेस–एमाले दुवै सरकारमा थिए। अब भने दुई नेता भिन्न परिस्थितिमा पुगेका छन्। ओली झनै शक्तिशाली भएर तेस्रो कार्यकाल एमाले चलाउँदै छन् भने देउवा लगभग ‘निरीह’ सावित भएका छन्। नेताहरूका अनुसार दोस्रो पुस्ताको खबरदारीले कांग्रेसमा निकास निकाले पनि एमाल यो मामिलामा पछि धकेलियो। नेतृत्व परिवर्तनको एजेन्डा एमाले–कांग्रेस दुवैमा भए पनि कांग्रेस सफल र एमालेमा असफल हुनुको कारण के हो?
पार्टी स्कुलिङ र प्रणालीमै फरकपनले सकस
कांग्रेस–एमालेलाई नेताहरूसमेत एकै किसिमले विश्लेषण गरिरहेका छन्। गगन–विश्वले देखाएको हिम्मतको प्रशंसा गर्दै एमाले उपमहासचिव योगेश भट्टराईले भनेका छन्, ‘हामीले बोल्यौँ, केही गर्यौँ। तपाईंहरूले बोल्नुभयो। हामीभन्दा धेरै गर्नुभयो।’
यसबाट पनि दुवै दलका दोस्रो स्तरका नेताहरू नेतृत्व परिवर्तन चाहन्छन्/चाहन्थे भन्ने देखिन्छ। यसरी एउटा पार्टीमा फरकपन आउनु र अर्कोमा नआउनुमा भने यो पार्टीभित्रको ‘सिस्टम’ र ‘स्कुलिङ’ रहेको राजनीतिक विश्लेषकहरूको बुझाइ छ।
‘एमाले कम्युनिस्ट हो। यसमा नेतृत्व प्रमुख जस्तो बन्छ। कांग्रेस अलि लोकतान्त्रिक छ, फरक मतलाई पनि सम्मान गरिन्छ,’ राजनीतिक विश्लेषक कृष्ण पोखरेलले हिमालप्रेससँग भने, ‘कांग्रेसमा भिन्न मत राख्ने वातावरण छ। तर एमालेमा पछिल्लो समय खुम्चिएको छ।’
पोखरेलका अनुसार फरक मत राख्न नसक्दा एमालेमा ‘परिवर्तनको मत कमजोर’ भएको हो। पोखरेल पटकपटकको विभाजनले एमाले एउटा गुटमा सीमित भएको तर कांग्रेस पूरै भएकाले पनि भिन्न मत सुनिएको बताउँछन्।
‘माधव–झलनाथले छाडेपछि एमाले त एउटा गुटमा सीमित भयो। तर कांग्रेसमा धेरै गुट भए पनि एउटै छ,’ उनले भने। एमाले नेतृ उषाकिरण तिम्सिना पनि पछिल्ला दिनमा पार्टीभित्र फरक मतको कदर नभएको कुरा स्वीकार्छिन्।
‘हामी त पार्टीभित्रको गलत कुरा उठाउँदा कारबाहीमा पर्यौँ। कांग्रेसमा गलतलाई गलत भन्न पाइन्छ, त्यही कारण हाम्रो आवाज नेतृत्वसम्म कम पुग्यो’, तिम्सिना भन्छिन्।
उनका अनुसार एमालेमा नवौँ महाधिवेशनपछि फरक मतको कदर कम हुन थालेको हो। ‘झलनाथ खनालको नेतृत्वमा फरक दृष्टिकोणलाई सद्भावका साथ राख्न दिइन्थ्यो, तर अहिले त्यो परिपाटी खुम्चियो’, तिम्सेनाले भनिन्।
अहिले एमाले नेता विशेषको जस्तो बनेको उनको ठहर छ। ‘नीतिभन्दा पनि नेतृत्व प्रमुख हो भन्ने भाष्य बनाइएको छ’, उनी थप्छिन्, ‘कांग्रेसमा नीति नै माथि मानिन्छ।’
महाधिवेशन–अधिवेशनको परम्परामै भिन्नता
देउवा २०७८ मंसिर २४ मा दोस्रो पटक सभापति बने। उनी सभापति बनेको कार्यकाल गएको मंसिर २८ मा सकियो। केन्द्रीय कार्यसमितिले तोकेको पुसमा नियमित महाधिवेशन सम्भव नभएपछि २०८३ वैशाख मसान्तमा सम्पन्न गर्नेगरी समय थपिएको थियो।
ओली २०७८ साल फागुनमा अध्यक्ष बनेका भए पनि पाँचवर्षे कार्यकाल रहेकाले २०८३ सम्म अध्यक्ष बन्न सक्थे। उनले एक वर्षअगावै महाधिवेशन गरे।
‘देउवाले कार्यकाल लब्म्याउन मात्र खोजे, ओलीले मौका छोपेर महाधिवेशन नै गरे’, राजनीतिक विश्लेषक पोखरेल भन्छन्, ‘देउवाले पद छाड्छु पनि भने तर छाडेनन्। उनले चाहेको के हो भन्ने बुझ्न सकिएन।’
जेनजी आन्दोलनपछि देउवा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाएर सिंगापुर गएका थिए। सिंगापुरबाट फर्किएपछि देउवा आफैँ सक्रिय भए। पार्टीभित्रबाट देउवाको भूमिकाको आलोचना भयो। तर देउवा पछि हटेनन्।
‘किन देउवा यसो गर्दै छन् कसैलाई थाहा भएन, यसमै कार्यकर्ता असन्तुष्ट बने’, पोखरेल भन्छन्।
ओली भने महाधिवेशनतर्फ लागे। उनी पार्टी–कार्यकर्तासँग संवाद गर्दैै अघि बढेकाले महाधिवेशनबाट स्थापित हुन सफल भएको पोखरलको बुझाइ छ। कांग्रेसमा कुनै पनि जनसंगठनको समयमा अधिवेशन हुँदैन। अहिले पनि धेरै भ्रातृ संगठन तदर्थमा चलेका छन्।
एमालेले जनसंगठनलाई चलायमान बनायो। ओलीले एकै महिनामा सात संगठनको अधिवेशन गरेको छ। त्यसले गर्दा पनि ओलीले आफू पार्टीमा बलियो बनेको दाबी गरे।
एमालेमा ‘विद्रोहको स्वर’ उठाउने नेता कमजोर
दुवै पार्टीमा नेतृत्व परिवर्तन हुनुपर्छ भन्ने मत थियो। तर प्रभाव भिन्न पर्यो। नेताहरूका अनुसार नेतृत्व परिवर्तनको एजेन्डा उठाउनेहरूसमेत फरक भूमिकाका परे। ‘हामी निर्णायक भूमिकामा थिएनौँ, स्वर सानो सुनियो,’ तिम्सेना भन्छिन्, ‘तर उता भने महामन्त्रीहरू नै विद्रोहमा उत्रिनुभयो।’
एमालेमा नेतृत्व परिवर्तनको बहस चलाउन निर्णायक नेता कम थिए। नेताहरूका अनुसार उपाध्यक्ष विष्णु पौडेल, तत्कालीन उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, सचिव पद्मा अर्याल, रघुवीर महासेठलगायतका नेताले ओलीको विकल्प नदेखेकाले पनि नेतृत्व परिवर्तनमा धक्का पुगेको थियो। ‘प्रयत्न भएकै हो, तर मैदानमा पुगेपछि हारजित हुन्छ नै, स्वाभाविक मान्नुपर्छ’, एमाले नेता प्रकाश पौडेल भन्छन्।
कांग्रेसमा दोस्रो कार्यकारी पदमा रहेका गगन–विश्व मैदानमा उत्रिएका छन्। उनीहरूलाई साथ दिन सभापति देउवा खेमाकै नेताहरू पनि विशेष महाधिवेशनस्थलमा पुगे।
‘ललिपप’ मा रमाए देउवा, अडानमा उभिए ओली
पार्टीभित्र भूमिका कमजोर हुनुको अर्को कारण हो, देउवाको अभिलाषा। सुरुमा मौन रहेका देउवा पछिल्लो समयमा प्रतिनिधिसभा पुनःस्थापनाको एजेन्डामा फर्किए। राजनीतिक विश्लेषक पोखरेलका अनुसार संसद् पुनःस्थापनापछि देउवा प्रधानमन्त्री बन्न उत्साहित देखिएका थिए।
कांग्रेसले एमालेसँग मिलेर संसद् पुनःस्थापनाका लागि अदालत गयो। ‘यसरी भिन्नभिन्न व्यवहारले पनि देउवामाथि विश्वास हरायो’, पोखरेल भन्छन्। ओली भने सुरुबाटै एउटै अडानमा छन्। संसद् पुनःस्थापनाका पक्षमा लागेका उनी देउवामा जुटे।
पोखरेलका अनुसार संसद् पुनःस्थापना भए देउवा प्रधानमन्त्री बन्ने ललिपप पनि ओलीले बाँडे। ‘आज नभए पनि केही समयपछि देउवा बाहिरिनुपर्दपथ्र्यो। कार्यकर्ताले देउवासँग नजिक बन्नभन्दा अन्यत्र जानु निको ठाने’, विश्लेषक पोखरेल भन्छन्।
ओली भने अध्यक्ष बन्ने दाउमा लागेपछि कार्यकर्ता उनीप्रति लागेको पोखरेलको विश्लेषण छ।
विधान फेर्ने ओली, फेर्नै नसक्ने देउवा
कांग्रेस–एमालेमा दुई कार्यकालभन्दा बढी सभापति/अध्यक्ष बन्न नपाउने विधान थियो। एमालेले विधान सम्मेलनमार्फत परिपार्टी फेर्यो। ओलीकै लागि दुई कार्यकालको प्रावधान हटाइयो। तर देउवाले विधान परिवर्तन गर्न रूची देखाएनन्। देउवाको एकमात्र स्वार्थ थियो–फागुन २१ लागि घोषणा गरिएको चुनावमा कांग्रेसलाई आफ्नो नेतृत्वमा सहभागी गराउने र आफूले हस्ताक्षर गरेको टिकट उम्मेदवारहरूलाई बाँड्ने।
महासमिति बैठकमा संस्थापन पक्षले विधान संशोधनको प्रस्ताव लैजान चाहन्थ्यो। गगन–विश्वले मानेनन्। विश्वप्रकाशले त एकपटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्रीको प्रावधान ल्याए। ओली–देउवा भिन्नता यसैबाट देखिएको पोखरेलको बुझाइ छ।
प्रतिस्पर्धीमै भिन्नता
देउवा–ओली वयोवृद्ध नेता हुन्। उनीहरू लामो समयदेखि पार्टीमा क्रियाशील छन्। यसरी ‘जरा गाडेका नेतालाई’ सधँै अघि बढाउँदा पुस्तान्तरणमा सकस परेको नेताहरू बताउँछन्। विश्लेषक पोखरेल भने उनीहरू हट्दा को आउने भन्ने विषय पनि चासोमा रहेको बताउँछन्।
कांग्रेसमा देउवा हटे पनि आउने गगन, विश्वहरू थिए। उनीहरू पुस्ताका हिसाबले पनि दोस्रो हुन्। पार्टीभित्र कार्यकारी भूमिकामा रहेका उनीहरू कांग्रेसलाई चलाउन सक्ने सामथ्र्य राख्छन्। एमालेमा भने प्रतिस्पर्धी कमजोर भएको बुझाइ नेताहरूको छ।
एघारौँ महाधिवेशनमा प्रतिस्पर्धा गरेका ईश्वर पोखरेल पनि ओलीकै पुस्ताका नेता हुन्। नेतृत्वमा भने उनी ओलीभन्दा कमजोर देखिए। सोही कारण ओली निर्विकल्प आएको नेताहरूको बुझाइ छ।
‘ईश्वरजी लामो समय ओलीसँगै रहेका थिए। उनी ओलीका विकल्प जस्ता देखिएनन्। तर कांग्रेसमा गगन–विश्व लामो समयदेखि देउवासँग संघर्ष गरेका पात्र हुन्। कार्यकर्ताले पनि उनीहरूमा सम्भावना देखे,’ विश्लेषक पोखरेल भन्छन्, ‘पोखरेलभन्दा ओली नै ठीक भन्ने कार्यकर्ताको बुझाइले पनि नेतृत्व परिवर्तन एमालेमा असम्भव देखियो।’
पूर्वराष्ट्रपति विद्या भण्डारी एममाले अध्यक्ष बन्ने योजनामा थिइन्। ओलीले भण्डारी प्रतिस्पर्धामा आउने देखेपछि सदस्यता खारेज गरिदिए।
भण्डारीको सदस्यता नरहेपछि दोस्रो विकल्पका रूपमा पोखरेल अघि सरे। पोखरेलका अनुसार पार्टीभित्रको छोटो तयारी र कमजोर रणनीतिका कारण एमालेमा ओलीको वर्चस्व रह्यो। कांग्रेसमा भने लामो समयदेखि देउवासँग गगन–विश्वको प्रतिस्पर्धा थियो। १४ औँ महाधिवेशनमा पनि गगन शेखर कोइराला प्यानलबाट महामन्त्रीमा उदाएका थिए। उनीहरूबीच पुस्तान्तरणदेखि ‘विद्रोही चेत’ समेत रहेकाले देउवा किनारामा परे।




