काठमाडौँ- नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय फिल्म महोत्सव’ को सातौँ संस्करण आयोजना हुने भएको छ।
महोत्सव यही माघ १६ देखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्ड र नेपाल पुलिस क्लबमा हुनेछ।
महोत्सवमा ३९ देशका ८५ फिल्म प्रदर्शन गरिने आयोजकले जनाएको छ। महोत्सवमा विभिन्न देशबाट ७ सय भन्दामाथि फिल्म प्राप्त भएको आयोजकले जनाएको छ।
‘तीन मिनेटदेखि साढे दुई घण्टासम्म अवधिका फिल्महरू महोत्सवका लागि छनोट भएको महोत्सव निर्देशक तथा अध्यक्ष सन्तोष सुवेदीले बताए। उनका अनुसार महोत्सवको उद्घाटन चाबहिलको चलचित्र विकास बोर्डमा हुनेछ।
महोत्सवमा लघु फिल्म, कथानक फिल्म, वृत्तचित्र, एनिमेटेड फिल्मसँगै महिला, बालबालिका, मानव अधिकार तथा सांस्कृतिक विषयवस्तुमा आधारित फिल्म समावेश गरिएको छ। उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, छायाकारसँगै माथि उल्लेखित उत्कृष्ट फिल्मबीच प्रतिस्पर्धा हुनेछ।
यसपटक महोत्सवको अन्तर्राष्ट्रिय निर्णायकमा अमेरिकाकी निर्माता-निर्देशक जेसिका एकर्सन, बेलायतकी निर्माता एड्रियाना कुलिग, जर्जियाकी अनुसन्धानकर्ता निनी सिभेलिज, इटालीकी लेखक तथा निर्देशक भ्यालेन्टिना गाल्डी, बेलायतकी निर्देशक-निर्माता म्याग्डालिना कोर्पास, अर्जेन्टिनाका निर्देशक तथा चिकित्सक डा. जर्ज ग्युलेर्मो क्याराभोटा, ट्युनिसियाका निर्देशक नुमिन नुमिन, लाट्भियास्थित स्कार्लेट फिल्म्सका संस्थापक इमरोज होसेन छन्।
राष्ट्रियतर्फको निर्णायकमा फिल्म लेखक, निर्देशक तथा कलाकार रमेश बुढाथोकी, अभिनेता धीरेन शाक्य, अभिनेत्री तथा निर्माता दीपाश्री निरौला, अभिनेता आर्यन सिग्देल र निर्माता तथा छायाकार रविन आचार्य छन्।
फिल्म प्रदर्शनसँगै महोत्सवमा सांस्कृतिक कला प्रदर्शनी, नृत्य, कला-संस्कृति र पर्यटनसम्बन्धी अन्तरक्रिया लगायत थुप्रै कार्यक्रम रहेको महोत्सवकी सह-निर्देशक सृष्टि न्यौपानेले जानकारी दिइन्। साथै अस्ट्रेलिययाका निर्देशक मौलीनाथ गंगोलीले फिल्मसम्बन्धी मास्टर क्लास पनि दिनेछन्।
महोत्सवमा दक्षिण एसियाली मुलुक भारत, बंगलादेश, पूर्वी एसियाली देशहरू चीन, थाइल्यान्ड, कोरिया, काजकिस्तान, यूएई, कतार, हङकङ, फिलिपिन्स, इन्डोनेसिया, ताइवान लगायतका फिल्म चयन भएकाे छ।
साथै अमेरिका, क्यानडा, अस्ट्रेलिया, अर्जेन्टिना, बेलायत, फ्रान्स, इटाली, जर्मनी, रुस, स्विजरल्यान्ड, ट्युनिसिया, युक्रेन, स्पेन, नेदरल्यान्ड, मेक्सिको, फिनल्यान्ड, लिथुआनिया, चिली, नर्वे, ब्राजिल, सर्बिया, पोर्चुगल, पोल्यान्ड, हंगेरी, ग्रीस, डेनमार्क, बुल्गेरिया, चेक रिपब्लिकलगायत युरोप, दक्षिण अमेरिका तथा अफ्रिकी मुलुक मोरक्को, इजिप्ट, दक्षिण अफ्रिकाका फिल्म पनि समावेश छ।
काठमाडौँमा विश्वभरका सांस्कृतिक, सामाजिक र सिर्जनात्मक फिल्मको प्रवद्र्धन गर्ने उद्देश्यले विगत सात वर्षदेखि नेपाल संस्कृति तथा चलचित्र केन्द्रले निरन्तर महोत्सवको गर्दै आइरहेको छ।



