सातौँ राष्ट्रिय योगासन खेलकुद प्रतियोगिता शनिबार दीक्षालय स्कुलमा

हिमाल प्रेस १५ माघ २०८२ १५:२८
10
SHARES
सातौँ राष्ट्रिय योगासन खेलकुद प्रतियोगिता शनिबार दीक्षालय स्कुलमा

काठमाडौँ- नेपाल योगासन खेलकुद संघको आयोजनामा सातौँ राष्ट्रिय योगासन खेलकुद प्रतियोगिता आगामी शनिबार काठमाडौँको बूढानीलकण्ठस्थित दीक्षालय स्कुल, कपनमा सञ्चालन हुने भएको छ।

नेपाल सरकारबाट मान्यता प्राप्त यस राष्ट्रियस्तरको प्रतियोगितामा देशभरका सातै प्रदेशबाट ३३१ जना खेलाडीहरूको सहभागिता सुनिश्चित भइसकेको आयोजकले जनाएको छ।

सहभागीमध्ये २१८ जना महिला र ११३ जना पुरुष खेलाडी रहेका छन्। प्रदेशगत रूपमा बागमती प्रदेशबाट ११९, कोशी प्रदेशबाट ४२, मधेश प्रदेशबाट २०, गण्डकी प्रदेशबाट १९, लुम्बिनी प्रदेशबाट १७, कर्णाली प्रदेशबाट १६ तथा सुदूरपश्चिम प्रदेशबाट १८ खेलाडी सहभागी हुनेछन्। प्रतियोगिता पुरुष र महिलातर्फ छुट्टाछुट्टै प्रतिस्पर्धामा सञ्चालन हुनेछ।

प्रतियोगिता सब-जुनियर (१०-१४ वर्ष), जुनियर (१४-१८ वर्ष), सिनियर (१८-२८ वर्ष), सिनियर ‘ए’ (२८-३५ वर्ष), सिनियर ‘बी’ (३५-४५ वर्ष), सिनियर ‘सी’ (४५-५५ वर्ष) तथा सिनियर ‘डी’ (५५ वर्ष माथि) उमेर समूहमा सञ्चालन गरिनेछ।

प्रतियोगितामा दुई प्रकारका इभेन्ट समावेश गरिएका छन्। सबै उमेर समूहका लागि अनिवार्य व्यक्तिगत पाँच योगासन विधाअन्तर्गत अगाडि झुक्ने, पछाडि झुक्ने, शरीर मोड्ने, हातद्वारा सन्तुलन र खुट्टाद्वारा सन्तुलन समावेश छन्।

खेलाडीले तोकिएको आसन तालिकाअनुसार पाँचवटा योगासन प्रदर्शन गर्नुपर्नेछ। प्रत्येक आसनका लागि १० अंक निर्धारण गरिएको छ र प्रत्येक आसन कम्तीमा १५ सेकेन्डसम्म स्थिर रूपमा धारण गर्नुपर्ने व्यवस्था छ।

त्यसैगरी सब-जुनियर, जुनियर तथा सिनियर उमेर समूहका लागि कलात्मक एकल इभेन्ट सञ्चालन हुनेछ। यस अन्तर्गत खेलाडीले कुल १० वटा योगासन प्रदर्शन गर्नुपर्नेछ। कुल मूल्याङ्कन १०० अंक हुनेछ। प्रतियोगिताको समयावधि १५० देखि १८० सेकेन्डसम्म रहनेछ र आसनहरूबीचको रूपान्तरण कलात्मक तथा संगीतसँग तालमेल भएको हुनुपर्नेछ। प्रत्येक आसन कम्तीमा पाँच सेकेन्डसम्म कायम राख्नुपर्ने व्यवस्था गरिएको छ।

प्रतियोगिताका विजेताहरूलाई स्वर्ण, रजत र कास्य पदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिनेछ। साथै सबै उमेर समूहका स्वर्ण पदक विजेतामध्येबाट उत्कृष्ट खेलाडी छनोट गरी पुरुषतर्फ ‘मिस्टर योगी’ र महिलातर्फ ‘मिस योगी’ उपाधिसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताको स्थल तथा भोजन व्यवस्थापन दीक्षालय स्कुल, बूढानीलकण्ठ, कपनले प्रायोजन गरेको छ।

नेपाल योगासन खेलकुद संघ २०७३ साल माघ २३ गते राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भई हालसम्म तीनवटा दक्षिण एसियाली, छवटा राष्ट्रिय, दुईवटा उपत्यकास्तरीय तथा एक माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय योगासन खेलकुद प्रतियोगिता आयोजना गरिसकेको छ।

संघले मलेसियामा सम्पन्न १६औँ अन्तर्राष्ट्रिय योगासन खेलकुद प्रतियोगितामा दुई स्वर्ण, एक रजत र तीन कास्य पदक हासिल गरेको थियो भने हालै भारतको नयाँ दिल्लीमा सम्पन्न दोस्रो एसियाली योगासन खेलकुद प्रतियोगितामा पनि सहभागिता जनाएको थियो।

प्रकाशित: १५ माघ २०८२ १५:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast