शिक्षक सरुवामा पैसाकै खेल हुन्छ : महावीर पुन

हिमाल प्रेस ११ माघ २०८२ १२:३७ | Sunday, January 25, 2026
220
SHARES
शिक्षक सरुवामा पैसाकै खेल हुन्छ : महावीर पुन

काठमाडौँ- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी क्षेत्र नम्बर-१ बाट स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान शिक्षामन्त्री महावीर पुनले शिक्षक सरुवामा व्यापक आर्थिक चलखेल हुने गरेको बताएका छन्।

शनिबार सडकमै आयोजित पत्रकार सम्मेलनमा पुनले चार महिनाको शिक्षामन्त्री कार्यकालका क्रममा शिक्षक सरुवामा पैसाको लेनदेनले गम्भीर विकृति ल्याएको पाएको बताए। ‘शिक्षक सरुवामा आर्थिक चलखेल धेरै हुने रहेछ। पैसाकै आधारमा सरुवा हुने अवस्थाले शिक्षा प्रणाली नै बिग्रँदै गएको छ,’ उनले भने।

विद्यमान ऐन, नियम, कार्यविधि र नियमावलीकै आडमा शिक्षा क्षेत्रमा बेथिति मौलाउँदै गएको उनले बताए। विज्ञहरूसँगको परामर्शपछि कानुनमा परिवर्तन नगरी सुधार सम्भव नरहेको निष्कर्षमा आफू पुगेको पुनले बताए।

पत्रकार सम्मेलनमा पुनले कन्सल्टेन्सीको भूमिकामाथि पनि प्रश्न उठाए। देशभर १५-१६ सय कन्सल्टेन्सी दर्ता भए पनि आधाभन्दा कम मात्र सक्रिय रूपमा काम गरिरहेको भन्दै कतिपय कन्सल्टेन्सीले नाजायज फाइदा उठाएर विद्यार्थीहरूको शोषण गरिरहेको आरोप लगाए।

आफू राजनीतिज्ञ नभए पनि जनताको हितका लागि राजनीतिमा आएको स्पष्ट पार्दै पुनले सिंहदरबारको कुर्सीमा बसेर मात्रै सुधार सम्भव नभएको अनुभव गरेपछि निर्वाचनमा होमिएको बताए। ‘आचारसंहिता लागु हुन लागेको अवस्थामा मन्त्रालयमा बसेर केही गर्न सकिँदैन भन्ने बुझेर म चुनावमा आएको हुँ,’ उनले भने।

प्रकाशित: ११ माघ २०८२ १२:३७ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast