पोखरा- पोखराकी सुप्रिया गोले तामाङ १०औं संस्करणको मिस तामाङ पोखरा घोषित भएकी छन्। बैदाम तामाङ सेवा समाजले आयोजना गरेको उक्त ब्युटी पेजेन्टमा अन्य ७ प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधिसहित १ लाख नगदसहित ताज, ट्रफी, प्रमाणपत्र हात पारिन्।
उनले मिस कन्फिडेन्टको सवटाइटलसमेत जितेकी हुन्। प्रमुख निर्णायक नेपाल चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले उत्कृष्ट ५ जनालाई तामाङ समुदाय संस्कार संस्कृतिसम्बन्धी अन्तिम प्रश्न गरेका थिए। जसमा सुप्रियाले सर्वोत्कृष्ट उत्तर दिएको निर्णायकमण्डलले जनाएको छ।
यसैगरी, मिस ब्युटी विथ पर्पाेजसहित फस्ट रनरअप सोममाया तामाङ बनिन्। सेकेण्ड रनर अप सोनी तामाङ भइन्।सोनीले मिस वेस्ट वकको उपाधिसमेत जितिन्। कविना घिसिङ तामाङ मिस पङ्चुअलसहित भ्यूअर्स च्वाइसमा परिन्। माया लामा मिस कल्चरसँगै पपुलर अवार्ड हात पारिन्।
फस्ट रनरअपले ५० हजार, सेकेण्ड रनरअपले ३० हजार भ्युवर्स च्वाइस र मिस पपुलरका विजेताले २० हजार पुरस्कार प्राप्त गरेका थिए। खुसी तामाङ मिस ट्यालेन्ट, रोज लामा मिस फोटोजेनिक, सलिना तामाङले मिस बेस्ट स्माइल बनेको आयोजक संस्थाका अध्यक्ष ज्याक तामाङले जानकारी दिए।
प्रतियोगिता उद्घाटन गर्दै उज्यालो नेपाल पार्टीका नेता एवं पूर्वमन्त्री कुलमान घिसिङले यस्ता प्रतियोगिताले सौन्दर्य मात्र होइन पहिचान, आत्मविश्वास र संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण टेवा मिल्ने बताए।



