काठमाडौँ- युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा भ्रम फैलाइएको भन्दै असन्तुष्टि जनाएका छन्।
स्वस्थ आलोचना स्वाभाविक भए पनि तथ्यहीन, अतिरञ्जित र नियतवश फैलाइने समाचारले समाज र लोकतन्त्रलाई फाइदा नपुर्याउने उनको भनाइ छ ।
‘सबै पत्रकार साथीहरूदेखि सबैलाई धन्यवाद। आलोचना हुनुपर्छ र हामी त्यसलाई सहन तयार छौँ,’ उनले शुक्रबार राति फेसबुकमा भनेका छन्, ‘तर केही दिनदेखि सामाजिक सञ्जालमा अमेरिका जान नक्कली निम्तो, दलबलसहित यात्रा, राज्यको ढुकुटी र जनताको पैसा दुरुपयोग, मानव तस्करीजस्ता गम्भीर आरोप लगाइएका छन्। यस्ता आरोपप्रति सुरुमा मौन बसेँ, किनकि राजनीतिमा आएपछि सहनुपर्छ भन्ने मलाई थाहा छ।’ उनले आफू काम र कर्तव्यप्रति निष्ठावान् भएर अघि बढ्न तयार रहेको स्पष्ट पारेका छन्। मन्त्रीले सत्य–तथ्य जाँचबुझ नगरी, विषयवस्तुको गहिराइमा नपुगी समाचार र टिप्पणी गर्ने प्रवृत्तिले समाजको हित नगर्ने बताएका छन्। ‘लोकतन्त्र र वाक् स्वतन्त्रतामा आलोचनात्मक चेतनासहितको खबरदारी सुन्दर हुन्छ, तर अपुष्ट र अनावश्यक आरोप अनैतिक हुन्छ,’ उनको भनाइ छ ।
युवा तथा खेलकुद मन्त्रालयमा विभिन्न देश तथा विदेशबाट कार्यक्रमहरूमा सहभागी हुन निमन्त्रणाहरू आउने गर्ने उनले बताएका छन्। ‘जाने वा नजाने निर्णय हाम्रो समय र तालिकाअनुसार हुन्छ,’ उनले उनको भनाइ छ ।
अमेरिका भ्रमणका सन्दर्भमा आफू नजाने निर्णय गरेको उनले बताए। ‘आज त बाहिर जाने कुरा रद्द गरियो भन्ने समाचार आयो। भिसा प्रक्रिया नै नगरेको अवस्थामा रद्द कसरी हुन्छ?’ भन्दै उनले प्रश्न उठाएका छन्।
राजनीतिमा सक्रिय युवाका रूपमा आफूविरुद्ध लाग्ने अफवाह र हुँदै नभएका आरोप सहन तयार रहेको बताउँदै मन्त्रीले अनावश्यक अतिरञ्जना र अफवाहबाट बच्न सबैलाई आग्रह गरेका छन् ।



