बुटवल – नेपालको अर्थतन्त्रको ठूलो हिस्सा सीमित ठूला व्यवसायिक घरानाको ‘होल्ड’ (कब्जा) मा रहँदा देशभरका साना तथा मझौला व्यवसायी माथि उठ्न नसकेको व्यवसायीहरुले बताएका छन्।
शनिबार बुटवलमा भएको उद्योग व्यापार संघको सातौँ वार्षिक साधारणसभामा रुपन्देहीका अगुवा व्यवसायीहरुले विभिन्न आन्दोलनले राजनीतिक व्यवस्था परिवर्तन भए पनि अर्थतन्त्रमा परिवर्तन आउन नसकेकाले समतामूलक र समाजवादी अर्थतन्त्र व्यवस्था निर्माणमा सरकार र दलहरुको ध्यानाकर्षण गराएका छन्।
नेपाल उद्योग व्यापार महासंघका केन्द्रीय महासचिव खिमनारायण पराजुलीले नेपालको कूल बैंकिङ कर्जाको ६० देखि ७० प्रतिशत हिस्सा करिब सय जना ठूला व्यवसायिक घरानामा लगानी हुने गरेको र १८ लाख बढी व्यवसायीमा ३० देखि ४० प्रतिशतमात्र कर्जा लगानी हुने गरेको बताए। कर्जा लगानीको यस्तो परिपाटीले साना तथा मझौला व्यवसायी फस्टाउन र माथि उठ्न नसकेको उनले औँल्याए।
‘सीमित ठूला व्यवसायीक घरानाले बैंकबाट दुई तिहाई हिस्सा कर्जा उपभोग गरेको छ, बाँकी १८देखि १९ लाख उद्योगी व्यवसायीले जम्मा ३० देखि ४० प्रतिशतमात्र कर्जा लिने गरेको तथ्यांक छ,’ पराजुलीले भने, ‘कर्जा लगानीको यो अस्वभाविक असन्तुलन नतोडेसम्म लाखौँ साना र मझौला व्यवसायी फस्टाउन सक्दैनन्, अनि समाजवाद उन्मुख अर्थतन्त्र पनि निर्माण गर्न सकिन्न।’
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समग्र नीजि क्षेत्र फस्टाएमात्र देशको आर्थिक समृद्धि सम्भव हुने बताए। प्रदेश सरकारहरुको बजेट विकास निर्माणमा भन्दा आलिशान प्रशासनिक भवन निर्माण, महँगा गाडी खरिद, सांसद र मन्त्रीको सेवा सुविधामा बढी मात्रामा खर्च हुने गरेकाले नागरिकमा वितृष्णा फैलिएको भन्दै पाण्डेयले दल र नेताहरु सुध्रिन जरुरी रहेको बताए।
प्रदेशको स्थायी राजधानी दाङ कायम गर्दा बुटवललाई आर्थिक राजधानी बनाइने निर्णय भए पनि यसमा कत्ति पनि बजेट नदिइएको र कुनै काम नभएको भन्दै उनले प्रदेश सरकारको ध्यानाकर्षण गराए।
कार्यक्रममा उद्योग ब्यापार संघ बुटवलका अध्यक्ष विष्णुप्रसाद पाण्डेले संघले व्यवसायीका हक हितसँगै स्थानीय सरकारसँग सहकार्य गरेर विभिन्न सामाजिक काम पनि गर्दै आएको बताए।
कार्यक्रममा उद्योग व्यापार संघ बुटवलले उत्कृष्ट आर्थिक पत्रकारिता पुरस्कार पत्रकार यमलाल भुसाललाई प्रदान गरेको छ। ३० वर्षदेखि बुटवलमा क्रियाशील पत्रकार भुसाललाई नगद २७ हजार ५ सय रुपैयाँ र प्रमाणपत्र प्रदान गरिएको छ। यस्तै अग्रज पत्रकारहरु डा. बालकृष्ण चापागाईँ, दामोदर खनाल र यानेन्द्र जीसीलाई कदरपत्रले सम्मान गरिएको छ।
यस्तै संघले व्यवसायी मदनकुमार पुन, बसन्तप्रताप सेन र विष्णुप्रसाद भण्डारीलाई उत्कृष्ट अग्रज व्यवसायीका रुपमा सम्मान गरेको छ।





