वैजयन्ती साहित्यिक पत्रिकाको शताङ्क अंक विमोचन, १८ स्रष्टा सम्मानित

हिमाल प्रेस ११ माघ २०८२ १०:४१ | Sunday, January 25, 2026
16
SHARES
वैजयन्ती साहित्यिक पत्रिकाको शताङ्क अंक विमोचन, १८ स्रष्टा सम्मानित

काठमाडौँ- शब्दार्थ प्रकाशनद्वारा प्रकाशित विधा केन्द्रित साहित्यिक पत्रिका वैजयन्ती १९औँ वर्षमा प्रवेश गरेको अवसरमा शनिबार शताङ्क (१००औँ) अंक विमोचन गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उक्त ऐतिहासिक अंक सार्वजनिक गरिएको हो।

साहित्यकार देवु लुइँटेलद्वारा सञ्चालन गरिएको कार्यक्रम वैजयन्तीका वर्तमान प्रधान सम्पादक डा.रमेश शुभेच्छुको सभापतित्वमा तथा साहित्यकार एवं शिक्षाविद् प्रा.डा.विद्यानाथ कोइरालाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा वैजयन्तीले हरेक वर्ष प्रकाशित विशेषाङ्कका उत्कृष्ट रचनाकारलाई प्रदान गर्दै आएको वैजयन्ती स्रष्टा सम्मान (२०७९–२०८२) अन्तर्गत १८ जना स्रष्टालाई एकैसाथ सम्मान गरिएको छ।

सम्मानित हुने स्रष्टामा लघुउपन्यास विधातर्फ इन्दु पन्त, कथातर्फ हंसा कुर्मी, संस्कृतितर्फ सन्ध्या खनाल, संस्मरणतर्फ प्रा.पुरूषोत्तम दाहाल, नाटकतर्फ धनञ्जय बाँस्कोटा, मुक्तकतर्फ मुरारीराज मिश्र, गजलतर्फ अनुराग अरूण, लघुकथातर्फ रामकुमार पण्डित, निबन्धतर्फ देवीप्रसाद चापागाईं, चारूतर्फ प्रा.डा.देवी पन्थी, गीततर्फ इन्दिरा चापागाई, स्वर्वार्तातर्फ डा.मधुसूदन लामछाने, हाइकुतर्फ सुमी लोहनी, विदेशयात्रातर्फ विनोद खड्का, समालोचनातर्फ प्रा.डा. भागवत ढकाल तथा वैजयन्तीको इतिहास लेखनतर्फ रमेश दवाडी रहेका छन्।

यसै अवसरमा वैजयन्ती पत्रिकाको दीर्घकालीन योगदानको कदर गर्दै अंक १ देखि १०० सम्म सम्पादन गरेका यादव भट्टराई, अंक ५ देखि ८६ सम्म सम्पादन गरेका ठाकुर शर्मा भण्डारी तथा पत्रिकाको आवरणका लागि निरन्तर क्यानभास चित्र उपलब्ध गराउँदै आएका कलाकार सुबोध घिमिरेलाई शब्दार्थ उत्कृष्ट सेवा सम्मानद्वारा सम्मान गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले वैजयन्तीलाई विधागत साहित्यिक प्रकाशनको कोसेढुंगाका रूपमा व्याख्या गर्दै पत्रिकाले नेपाली साहित्यमा दीर्घकालीन प्रभाव छोडेको बताएका थिए।

समालोचक तथा सम्पादक यादव भट्टराईले विधागत प्रकाशनमा वैजयन्तीको ऐतिहासिक योगदान रहेको बताए भने वरिष्ठ पत्रकार तथा लेखक पुरूषोत्तम दाहालले साधनाले मात्रै साहित्यिक पत्रिका चलाउन सकिने धारणा राख्दै साहित्यिक पत्रिकाको निरन्तरता आफैँमा चुनौतीपूर्ण रहेको बताए।

त्यसैगरी निवर्तमान प्रधान सम्पादक ठाकुर शर्मा भण्डारी, वर्तमान प्रधान सम्पादक डा.रमेश शुभेच्छु, प्रमुख अतिथि प्रा.डा. विद्यानाथ कोइराला तथा वैजयन्ती पत्रिकाका निर्देशक साहित्यकार विनयकुमार शर्मा नेपालले साहित्यिक पत्रिकाको निरन्तरता, चुनौती र भविष्यका विषयमा आआफ्ना विचार प्रस्तुत गरेका थिए।

प्रकाशित: ११ माघ २०८२ १०:४१ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast