काठमाडौँ- जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्जको सहरी क्षेत्रमा निषेधाज्ञा आदेश जारी गरेको छ। धनुषामा मस्जिद तोडफोड भएको विरोधको प्रदर्शन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले सोमबार बीरगञ्जमा निषेधाज्ञा आदेश जारी गरेको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको निषेधाज्ञा आदेशमा तोकिएको क्षेत्रमा कुनै किसिमको भेला, सभा, जुलुस र प्रदर्शन गर्न रोक लगाइएको छ। तोकिएको सिमानाभित्र आदेशको उल्लंघन गर्नेलाई कानुनबमोजिम कारबाही हुने निषेधाज्ञा आदेशमा भनिएको छ।
जिल्ला प्रशासन कार्यालयले बसपार्क पूर्व, सिर्सिया पुल पश्चिम, पावर हाउस चोक उत्तर र शंकराचार्य गेटको दक्षिणतर्फ निषेधाज्ञा जारी गरेको छ।
धनुषाको कमला नगरपालिका–६ सखुवा मरानस्थित मस्जिदमा तोडफोड र मुस्लिम धर्मावलम्बीको ग्रन्थ कुरान जलाएको घटना सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
यही घटनाको विरोधमा मुस्लिम समुदायले आइतबार वीरगञ्जमा प्रदर्शन गरेका थिए। त्यसपछि हिन्दुवादी संगठनहरूले सामेबार बिहानैदेखि बीरगञ्जमा प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडपसमेत भएको छ।
कमला नगरपालिका–६ बस्ने १९ वर्षीय हेदर अंसारी र अमानत अंसारीले सामाजिक सञ्जाल टिकटकमा विभिन्न किसिमका अपशब्द प्रयोग गरी समुदाय लक्षित गालीगलोेज गरेको भिडियो पोस्ट गरेका थिए।
यही विषयलाई लिएर पुस १९ गते मस्जिदमा तोडफोड हुनुका साथै त्यहाँ रहेका कागजपत्रका साथै कुरानसमेत जलाइएको थियो।
मस्जिदमा तोडफोड र कुरान जलाउनेलगायतका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय २५ वर्षीय कपिल भन्ने रामप्रताप साहलाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी गणेशबहादुर बमका अनुसार मुलुकी अपराध संहिता २०७४ को दफा १५५ बमोजिम धर्मसम्बन्धी कसुरसमा जिल्ला अदालत धनुषाबाट म्याद थप गरी साहमाथि अनुसन्धान भइरहेको जानकारी दिएका छन्। यो घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको उनले बताए।
त्यस्तै अपशब्द प्रयोग गरी समुदाय लक्षित गालीगलोज गरी टिकटकमा भिडियो पोस्ट गरेका हैदर र अमानतलाई समेत धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १५६ बमोजिम धर्मसम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।




