राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

हिमाल प्रेस ९ माघ २०८२ १७:४८ | Friday, January 23, 2026
20
SHARES
राष्ट्रियसभा सदस्य निर्वाचनको तयारी पूरा

काठमाडौँ- माघ ११ गते आइतबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले आज (शुक्रबार) आयोजना गरेको साप्ताहिक पत्रकार सम्मेलनमा राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदानका लागि सबै तयारी पूरा भएको प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए।

उम्मेदवारको मनोनयनपत्र दर्ता, दाबी बिरोध, छानबिन, अन्तिम नामावली प्रकाशन तथा चुनाव चिन्ह वितरणलगायतका कार्यसम्पन्न भएको उनले जानकारी दिए।

निर्वाचनका लागि मतपत्रसमेत सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकिएको छ। राष्ट्रियसभा सदस्य निर्वाचनको मतदान माघ ११ गते आइतबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित प्रदेशमा तोकिएको मतदान केन्द्रमा हुने आयोगले जनाएको छ।

माघ ११ गते आइतबार १८ जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन गर्न लागिएको हो। त्यसमा नेपाली कांग्रेसका सुनीलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्। १७ जनाका लागि सातै प्रदेश राजधानीमा मतदान गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रदेशसभा सदस्य, स्थानीय तहका प्रमुख र उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्ष मतदाता हुने कानुनी व्यवस्था छ। केही प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख एवं अध्यक्ष, उपाध्यक्षले राजीनामा दिई प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दर्ता गरेकाले मतदाता नामावलीबाट तिनको नाम हटाइएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।

प्रकाशित: ९ माघ २०८२ १७:४८ | Friday, January 23, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast