चितवन- तेह्रौँ राष्ट्रिय पोल्ट्री दिवस आज बाजागाजासहित प्रभातफेरी गरेर मनाइएको छ। नेपाल कुखुरा व्यवसायी मञ्चको आयोजनामा पोल्ट्रीसँग सम्बन्धित विभिन्न संघसंस्था र क्याम्पसका विद्यार्थीहरूको सहभागितामा पञ्चैबाजा, झाँकीसहित प्रभातफेरीका साथ दिवस मनाइएको हो।
देशमा कुखुरापालन सुरु भएको दिनको सम्झनामा हरेक पुस १७ गते पोल्ट्री व्यवसायीहरुले यो दिवस मनाउने गरेका छन्।चितवन औद्योगिक प्रदर्शनी परिसरबाट प्रारम्भ भएको प्रभातफेरी चौबीसकोठी-हाकिमचोक-स्याउली बजार हुँदै पुनः प्रदर्शनी परिसरमा पुगेर समापन भएको थियो।
प्रभातफेरीमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका अध्यापक विद्यार्थी, जिल्ला पशु सेवा कार्यालयका प्रमुख, भरतपुर महानगरपालिकाको पशुपन्छी प्रवर्द्धन शाखाप्रमुख, यहाँस्थित विभिन्न सरकारी निकायका प्रतिनिधि, नेपाल ह्याचरी उद्योग संघ, नेपाल दाना उद्योग संघ, नेपाल लेयर्स कुखुरापालक संघ, नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघ र चितवन नवलपुर दाना वितरक संघका प्रतिनिधि सहभागी थिए।



