स्कटल्यान्डसँगको हारसँगै महिला टी-२० विश्वकप छनोटबाट बाहिरियो नेपाल

हिमाल प्रेस १२ माघ २०८२ १४:५९
12
SHARES
स्कटल्यान्डसँगको हारसँगै महिला टी-२० विश्वकप छनोटबाट बाहिरियो नेपाल

काठमाडौँ- काठमाडौँमा जारी आईसीसी महिला टी-२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा स्कटल्यान्डसँग पराजित भएसँगै घरेलु टोली नेपालको विश्वकप खेल्ने सपना अधुरै रहेको छ।

सोमबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा स्कटल्यान्डसँग ७२ रनको हार बेहोरेपछि नेपाल विश्वकप छनोटबाटै बाहिरिएको हो।

स्कटल्यान्डले दिएको १४१ रनको लक्ष्य पछ्याएको नेपाल १३.५ ओभरमै ९ विकेट गुमाउँदै ६८ रनमा अलआउट भयो। कप्तान इन्दु बर्मा ५ बलमा ५ रन बनाउँदै रिटायर्ड आउट भइन्।

समूह चरणका चार खेलमध्ये एकमा जित र तीनमा हार बेहोरेको नेपाल २ अंकसहित समूह ‘बी’को चौथो स्थानमा सीमित रहँदै पहिलोपटक खेलेको ग्लोबल छनोटमै यात्रा टुंग्याउन बाध्य भयो।

नेपालको हारसँगै थाइल्यान्ड एक खेलअगावै सुपर सिक्समा प्रवेश गरेको छ। समूह ‘बी’बाट स्कटल्यान्ड, नेदरल्यान्ड र थाइल्यान्ड सुपर सिक्समा पुगेका छन् भने नेपाल र जिम्बाब्वे समूह चरणबाटै बाहिरिएका हुन्।

समूह ‘ए’बाट बंगलादेश, आयरल्यान्ड र अमेरिका सुपर सिक्समा पुगेका छन्। पपुवा न्युगिनी र नामिबिया भने छनोट दौडबाट बाहिरिएका छन्।

सुपर सिक्स पुग्न जित्नैपर्ने दबाब र अंक गणितीय रूपमा झिनो आशा बोकेको नेपाली टोलीले लक्ष्य पछ्याउने क्रममा अपेक्षित प्रदर्शन गर्न सकेन।

पहिलो इनिङ्समा सानदार बलिङ गरे पनि दोस्रो इनिङ्समा नेपाली ब्याटरहरू लामो समय क्रिजमा टिक्न सकेनन्। रोमा थापा १४ रनमा अविजित रहिन् भने ओपनर बिन्दु रावलले १४ र रुबिना क्षेत्रीले १० रन जोडिन्। अन्य कुनै पनि ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

यसअघि टस जितेर फिल्डिङ रोजेको नेपालविरुद्ध स्कटल्यान्ड २० ओभरमा १४० रन बनाउँदै अलआउट भएको थियो। नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १७ रन खर्चेर सर्वाधिक ४ विकेट लिइन्।

ग्लोबल छनोटमा पहिलो खेल खेलेकी मनीषाले पहिलो ओभरमै दुई विकेट लिँदै उत्कृष्ट सुरुआत दिलाएकी थिइन्। रुबिना क्षेत्रीले २ विकेट लिँदा रिया शर्मा, सीता रानामगर र कविता जोशीले समान एक-एक विकेट हात पारिन्।

स्कटल्यान्डका लागि प्रियानाज चट्टेर्जी ४५ रनमा अविजित रहिन् भने एल्सा लिस्टरले २२, सराह वर्सीले १८ र मेगन मेकोलले १७ रन जोडिन्।

प्रकाशित: १२ माघ २०८२ १४:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast